मेलबर्न, अष्ट्रेलिया ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई मेलबर्नमा सम्मान गरिएको छ । ७२ वर्ष पुरानो नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्व गरिरहेकी उनलाई भिक्टोरियामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले सम्मान गरेका हुन् । यससँगै नेपालको प्रेस र प्रवास विषयमा अन्तरक्रिया पनि गरिएको छ । अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाको आयोजनामा गैरआवासीय नेपाली संघ भिक्टोरिया, दिदीबहिनी वुमन्स नेटवर्क अष्ट्रेलिया, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको सहकार्यमा आयोजित कार्यक्रममा दिदीबहिनी नेवटर्ककी मिडिया संयोजक आश्मा चालिसेले अध्यक्ष शर्माको योगदानको चर्चा गर्दै उनले कठीन संघर्षका साथ प्राप्त गरेको सफलता सबै नेपाली नारीहरुको लागि गर्वको विषय भएको बताइन् ।

उनले लैंगिक समानताको सवालमा शर्माको योगदानले धेरैलाई बाटो देखाएको भन्दै त्यसलाई निरन्तरता दिन र केही ऐतिहासिक निर्णयहरु गरी अघि बढ्न सुझाव समेत दिइन् । आफु पनि यसअघि सञ्चारकर्ममा रहेको स्मरण गर्दै उनले हरेक ठाउँमा एक्लो महिलाका रुपमा प्रतिस्पर्धा गर्नुपरेको बताइन् । कार्यक्रममा नेप्लीज एशोसिएसन अफ भिक्टोरियाकी उपाध्यक्ष सरोजा श्रेष्ठले प्रवासमा रहेका समस्याहरुलाई बुझेर नेपाली सञ्चार क्षेत्रले पुलको काम गर्नुपर्ने बताएकी थिइन् । यस्तै अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका सचिव सुधीर शाक्यले समयानुकूल परिवर्तित हुन नसक्ने हो भने प्रविधिको मारमा पत्रकारिता पर्नसक्ने चुनौती औंल्याएका थिए ।
सञ्चारकर्मी दिक्पालदेव पंगेनीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली पूर्ववाणिज्यदूत निराजन गौलीले सामाजिक सञ्जालमा देखिएको विकृतिलाई नीति, नियम र कानूनका आधारमा नियमन गर्न सक्नुपर्ने बताए । उनले अष्ट्रेलियाको उदाहरण दिँदै आतंकवादी घटना भएको बेलामा समाजमा फैलिएका गलत श्रव्यदृश्य सामग्रीहरु कसरी राज्यले तत्कालै फैलनबाट रोक्न सक्यो भन्ने उदाहरण प्रस्तुत गरेका थिए । नेपालमा भने सामाजिक सञ्जाल सञ्चालक विदेशी कम्पनीहरुसँग सम्पर्क नै गर्न समस्या हुने गरेको यथार्थ पनि उनले सम्झाए । साथै नेपालबाट भ्रमणमा आउने व्यक्तित्वहरुले आफ्नो समकक्षीहरुसँगको औपचारिक भेटलाई प्रोत्सहन गरे अष्ट्रेलियाको राज्य तहमा सम्बन्ध विस्तार हुँदै जाने बताए ।


कार्यक्रममा बोल्दै एन्जाका संरक्षक चिरञ्जीवी देवकोटाले प्रवासमा पत्रकारिता गरिरहेका पत्रकारहरु र समूदायको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने र यसमा भएका भ्रमहरुलाई हटाउनुपर्ने बताएका थिए । यस्तै भ्रमण नेपालको सञ्चार जगत र तिनले प्रवासी नेपालीलाई हेर्ने दृष्टिकोणमा समेत रहेको उनको भनाई थियो । देवकोटाले नेपालमा पत्रकारिता क्षेत्र नै राजनीतिकरणको चपेटामा परेको बेला पत्रकार महासंघले आफुभित्र नै शुद्धिकरणको प्रयत्न थालनी गर्नुपर्ने सुझाव दिएका थिए । साथै, अष्ट्रेलियामा क्रियाशील पत्रकारहरुसँग यहाँको व्यवसायिक क्षेत्रले गर्नुपर्ने सहकार्यले कालान्तरमा समाजमा महत्वपूर्ण योगदानमा सहयोग पुग्ने उनको भनाई थियो ।
प्रमुख अतिथि नेपाल पत्रकार महासघकी अध्यक्ष निर्मला शर्माले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था संवैधानिक रुपमा सबल रहेपनि बेला बेलामा हुने गरेको विभिन्न खाले सरकारी गतिविधिहरुले ढुक्क हुन अवस्था नरहेको बताएकी थिइन् । उनले प्रवासमा दिइएको स्म्मानले आफुलाई थप ऊर्जा मिलेको भन्दै आगामी दिनमा पनि सबैलाई गर्वलायक काम गर्न उत्सुक रहेको उनको भनाई थियो । प्रवासलाई बुझने र उनीहरुका मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै यस्ता अन्तरक्रियाले पक्कै पनि दुबै पक्ष लाभान्वित हुने उनको भनाई थियो ।


कार्यक्रममा लिबरल पार्टीको तर्फबाट भिक्टोरिया राज्यको मेलबर्न क्षेत्रमा उम्मेद्वार बनेका शंकर धरेलले पुरुषहरुले आफुहरुले गरेका कार्यले कतै लैंगिक भेदभावलाई टेवा त पुगिरहेको छैन भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए । यस लगत्तै कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरुले मिडिया र समूदायका अगुवाहरुबीचको सहकार्यलाई सही अर्थमा अघि बढाउन गर्नुपर्ने कार्यहरुको विषयमा चर्चा गरेका थिए । निजी भ्रमणका लागि अष्ट्रेलिया आएकी शर्मा पहिलो पटक मेलबर्न आएकी हुन् ।





प्रतिक्रिया