दसैँको सांस्कृतिक महत्वबारे मन्त्री क्लान्सीको चर्चा, नेपालको बाढीपहिरोप्रति दुःख व्यक्त गर्दै नेपाली समुदायसँग ऐक्यबद्धता
एडिलेड, अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाको संसद् भवनमा नेपालीहरूको महान् पर्व विजया दशमी (दसैँ) वैदिक स्वस्तिवाचन, टीका–जमरा र सांस्कृतिक प्रस्तुतिसहित मनाइएको छ। बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सीको आयोजनामा बुधबार सम्पन्न विशेष समारोहमा पण्डित सम्भव सुवेदीले वैदिक मन्त्रोच्चारणसहित मन्त्री क्लान्सीलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिएका हुन्।
अक्टोबर २८ मा एडिलेडस्थित संसद् भवनको ऐतिहासिक ओल्ड चेम्बरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री क्लान्सीले दसैँको सांस्कृतिक महत्वबारे चर्चा गरिन्। परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउने पर्वका रूपमा दसैँको महत्व उल्लेख गर्दै उनले दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्याउँदै आएको योगदानको प्रशंसा गरिन्।
नेपाली समुदायले आफ्नो मौलिक भाषा, संस्कृति र परम्परालाई अस्ट्रेलियामा निरन्तरता दिँदै आएको उल्लेख गर्दै उनले यस्ता सांस्कृतिक उत्सवले विभिन्न समुदायबीच आपसी सम्मान, सद्भाव र सम्बन्ध विस्तारमा योगदान पुर्याउने बताइन्।
सम्बोधनकै क्रममा मन्त्री क्लान्सीले हालै नेपालमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन्। विपद्का बेला नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउन दक्षिण अस्ट्रेलियाको संसद्मा प्रस्ताव पारित गरिएको स्मरण गर्दै उनले नेपाली समुदायको सुखदुःखमा राज्य सरकार साथमा रहेको सन्देश दिइन्।




समारोहमा दोस्रो पुस्ताका नेपाली युवा अभय क्षेत्रीले सम्बोधन गर्दै नेपालीहरूको महान् पर्व दसैँलाई संसद् भवनमा मनाउने अवसर प्रदान गरिएकोमा खुसी व्यक्त गरे। उनले नेपाली संस्कृति र परम्परालाई सम्मान गर्दै यस्तो कार्यक्रम आयोजना गरेकोमा मन्त्री क्लान्सीलाई धन्यवाद दिए।
त्यसैगरी, हिन्दु इकोनोमिक फोरम अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया च्याप्टरकी अध्यक्ष शबा डिसीले विदेशमा दसैँ मनाउँदाको अनुभव र सांस्कृतिक महत्वबारे चर्चा गरिन्। जन्मभूमिबाट टाढा रहँदा दसैँमा विशेषगरी हजुरबुबा, हजुरआमा र परिवारका अग्रजहरूको अभाव महसुस हुने उल्लेख गर्दै उनले यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई आफ्नो मौलिक परम्परासँग जोड्ने बताइन्।


अस्ट्रेलियाजस्तो बहुसांस्कृतिक समाजमा संसद् भवनमै दसैँ मनाइनुले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई सम्मान मिलेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले नेपाली र अन्य अस्ट्रेलियाली समुदायबीच आपसी समझदारी तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्। उनले कार्यक्रम आयोजना गरेकोमा मन्त्री क्लान्सीप्रति आभारसमेत व्यक्त गरिन्।
समारोहमा एडिलेड नेपाली विद्यालय र नेपाली पाठशालाका बालबालिकाले नेपाली मौलिक संस्कृति झल्किने आकर्षक नृत्य प्रस्तुत गरेका थिए। अस्ट्रेलियामा जन्मिएका तथा हुर्कँदै गरेका दोस्रो पुस्ताका नेपाली बालबालिकाको प्रस्तुतिले समारोहमा रौनक थपेको थियो। विदेशमा हुर्कँदै गरेको नयाँ पुस्तालाई नेपाली भाषा, कला र संस्कृतिसँग जोड्न दुवै शैक्षिक संस्थाले गर्दै आएको प्रयाससमेत उक्त प्रस्तुतिमार्फत झल्किएको थियो।


कार्यक्रममा दक्षिण अस्ट्रेलियाको संसद् सदस्य तथा ब्याड्को निर्वाचन क्षेत्रकी प्रतिनिधि जेन स्टिन्सन, अस्ट्रेलियाको गृह मामिला विभागका क्षेत्रीय निर्देशक, दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक आयोगका अध्यक्ष, दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक बोर्डकी सदस्य मञ्जु खड्का, काउन्सिलर रेणुका लामासहित अन्य विभिन्न सांसदहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए), एडिलेड नेपाली समाज, एडिलेड नेपाली विद्यालय, नेपाली पाठशाला, नेपाली भजनकीर्तन समूह, भुटानी समुदाय, फेन्कालगायत विभिन्न नेपाली तथा नेपालीभाषी सामुदायिक संघसंस्थाका प्रतिनिधि एवं समुदायका अगुवाहरू समारोहमा सहभागी भएका थिए।
नेपालीहरूको प्रमुख पर्व दसैँ पारिवारिक पुनर्मिलन, आपसी सद्भाव, अग्रजप्रतिको सम्मान तथा असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ। अस्ट्रेलियाको संसद् भवनमा आयोजित यस समारोहले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई राज्यस्तरमा प्रस्तुत गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, कला र परम्परासँग जोड्ने प्रयासलाई समेत उजागर गरेको छ।










प्रतिक्रिया