छैटौँ संस्करणको तयारी तीव्र, राज्य सरकारबाट ३० हजार डलर अनुदान, महोत्सव सफल बनाउन २० उपसमिति सक्रिय
एडिलेड, अस्ट्रेलिया। आगामी नोभेम्बर २८ मा एडिलेडको टोरेन्स परेड ग्राउन्डमा आयोजना हुने नेपाल फेस्टिभल साउथ अस्ट्रेलिया २०२६ को तयारी तीव्र पारिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाको आयोजनामा हुने महोत्सवमा पहिलोपटक दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
शनिबार एडिलेडमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक थिर गुरुङले तयारीबारे जानकारी दिँदै यसपटक १ लाख ७० हजार अस्ट्रेलियन डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको बताए। उनका अनुसार महोत्सवका लागि दक्षिण अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक अनुदान कार्यक्रममार्फत ३० हजार अस्ट्रेलियन डलर सहयोग प्राप्त भएको छ।

पत्रकार सम्मेलनमा एनआरएनए दक्षिण अस्ट्रेलियाका उपसंयोजक तथा नेपाल फेस्टिभल २०२६ का कार्यक्रम संयोजक गणेश पराजुलीले महोत्सवलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न २० वटा उपसमिति गठन गरी तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार विभिन्न जिम्मेवारीमा रहेका उपसमितिहरूले आ–आफ्नो कार्यक्षेत्रअनुसार तयारी तथा समन्वयका काम गरिरहेका छन्।
कार्यक्रममा बोल्दै एनआरएनए ओसिनिया क्षेत्रीय संयोजक रमेश जोशीले छैटौँ संस्करणसम्म आइपुग्दा नेपाल फेस्टिभल थप परिमार्जित र परिष्कृत हुँदै गएको बताए। उनले महोत्सवलाई भव्य, सभ्य र सफल बनाउन दक्षिण अस्ट्रेलियावासी सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता र सहकार्यका लागि आग्रह गरे।
त्यस्तै, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य राजु उपाध्यायले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै महोत्सवको सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिन आयोजकलाई सुझाव दिए। ठूलो संख्यामा दर्शक तथा समुदायका सदस्यहरूको सहभागिता रहने भएकाले सुरक्षा र व्यवस्थापनमा आवश्यक सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए।
यसैगरी, एनआरएनए आईसीसी सदस्य विष्णु तिवारीले नेपाल फेस्टिभलको सफलताको शुभकामना व्यक्त गर्दै महोत्सवलाई सफल बनाउन सबै नेपाली संघसंस्था तथा समुदायका सदस्यहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
पत्रकार सम्मेलनकै अवसरमा नेपाल फेस्टिभलका टाइटल स्पोन्सर प्लाटिनम गोल्डसहित विभिन्न प्रायोजक संस्थाहरूसँग औपचारिक सम्झौता हस्ताक्षर कार्यक्रमसमेत सम्पन्न भएको थियो।

कार्यक्रममा एनआरएनए नारी निकुञ्जकी राष्ट्रिय संयोजक रिज्नू अधिकारी, पूर्वसंयोजक दीपक बिष्ट, सञ्जय पुरी, अशोक केसी, एनसीसी तथा एससीसीका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो।
पत्रकार सम्मेलनमा नेपाली समुदायका अगुवा गोविन्द राना, एडिलेड नेपाली समाजका सचिव प्रदीप निरौला, एडिलेड नेपाली पाठशालाका अध्यक्ष देवेन्द्र खरेल, नेपाली भजनकीर्तन समूहका शिव काफ्लेलगायत नेवा समाज, मगर समाज दक्षिण अस्ट्रेलिया तथा विभिन्न नेपाली जातीय, सांस्कृतिक एवं सामुदायिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न समुदायको सहभागिताले नेपाल फेस्टिभलप्रतिको साझा चासो, सहकार्य र सामुदायिक एकतालाई उजागर गरेको थियो।
एनआरएनए दक्षिण अस्ट्रेलियाका सचिव युवराज पहाडीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा महोत्सवको तयारी, आर्थिक व्यवस्थापन, प्रायोजन तथा समुदायको सहभागितालगायत विषयमा जानकारी गराइएको थियो।
नेपाली कला, संस्कृति, परम्परा, पर्यटन तथा मौलिक पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको यो छैटौँ संस्करण हो। आयोजकले महोत्सवलाई सफल बनाउन नेपाली समुदायसहित सरोकारवाला सबै पक्षसँग सहकार्य र समन्वयलाई निरन्तरता दिएको जनाएको छ।







प्रतिक्रिया