भिक्टोरियामा १२ वर्षमाथिका ८३ प्रतिशतले लगाए कोरोनाविरुद्धको दुबै डोज खोप

भिक्टोरियामा १२ वर्षमाथिका ८३ प्रतिशतले लगाए कोरोनाविरुद्धको दुबै डोज खोप


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यका ८३ प्रतिशत १२ वर्षमाथिको उमेर समूहको जनसंख्याले कोभिड १९ कोरोना विरुद्धको खोप लगाएका छन् । आईतबार स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार राज्यमा ४६ लाख ९५ हजार ७ सय २१ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् भने गएको २४ घण्टामा मात्रै १३ हजार ९ सय १३ जनाले खोप लगाए ।

गएको २४ घण्टाको अवधिमा नयाँ ११ सय ७३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै राज्यमा कूल १६ हजार ४ सय १३ कोरोना संक्रमित पुगेका छन् । यो अवधिमा ५६ हजार ६ सय ४९ व्यक्तिले कोरोना परीक्षण गराएका थिए भने ९ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको साता आयोजना गरिएको मेलबर्न कप घोडादौड प्रतियोगितामा सहभागी दुई जनामा कोरोना संक्रमण देखिएको छ । भिक्टोरियाको रेसिंग क्लबले दुईजनामा कोरोना संक्रमण देखिएको भन्दै यहाँको स्वास्थ्य विभागसँग मिलेर काम गरिरहेको जनाएको छ । संक्रमितमध्ये एकजना कन्ट्रयाक्टर भएको र अर्को दर्शक रहेको जनाइएको छ । यी दुबैजनाले दुबै डोज कोरोनाको खोप लगाइसकेका थिए । यी व्यक्ति गएका ठाउँमा डीप क्लीन गरिएको छ ।