ललितपुरको पाटनमा भीषण आगलागी, म्हःपूजा गर्दै गरेका चार जनाको मृत्यु

ललितपुरको पाटनमा भीषण आगलागी, म्हःपूजा गर्दै गरेका चार जनाको मृत्यु


काठमाडौं, १९ कात्तिक । ललितपुरको मंगलबजार नजिक एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घरमा आगलागी भएपछि खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
आगलागीमा परेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । करिब साढे ६ बजे म्ह पूजा गर्नेक्रममा घटना भएको थियो । चार तले घरको तेस्रो तलामा बालेको दियोले पर्दामा छोएर आगलागी सुरु भएको थियो । तेस्रो तलामा सल्केको आगोको लप्काले चौथो तलामा रहेको भन्साकोठामा पुग्यो । त्यसपछि भान्सा कोठामा रहेको ग्यास पड्किएको थियो । चौथो तलामा ११ जना म्ह पूजा गर्दै थिए । ग्यास पड्किएपछि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।