विविध कार्यक्रमसहित मनाइयो नेपाल सम्वतको नयाँ वर्ष, नेपाल सम्वतकाे महत्व बढ्दै

विविध कार्यक्रमसहित मनाइयो नेपाल सम्वतको नयाँ वर्ष, नेपाल सम्वतकाे महत्व बढ्दै


काठमाडौं, १९ कात्तिक । नेपाल संवत् ११ सय ४२ शुक्रबारदेखि सुरु भएको छ । नेपाल संवत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वाः ले नेपाल मण्डलका जनतालाई ऋण मोचन गरी नेपाल संवत् प्रवर्तन गराइएको विश्वास छ । यसै अबसरमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागका नेवाः बसोबास भएका स्थानमा नेपाल सम्बतको नयाँ वर्ष मनाइयो ।
विगतमा शंखधर साख्वाः ले पशुपतिनाथ मन्दिरमा ठूलो यज्ञ गरेर नेपाल नामको मौलिक संवत् प्रवर्तन गरेको इतिहास छ । माली गाउँमा रहेको जयवर्माको मूर्ति जसमो १०७ संवत् उल्लेख छ, यो राष्ट्रिय संग्राहलयमा छ । जसलाई इतिहास संशोधन मण्डलका संस्थापक नरहरिराज पन्तले सो संवत् शख संवत् भएको बताउनुभएको थियो । यसैगरी, लिच्छिवीकालको मध्यकालमा पनि अंशुवर्माको बुङ्मतीमा फेला परेको संवत् २९ मानदेवसंवत् रहेको भन्ने अध्ययनले देखाएको बताइएको छ । यसैगरी, ललितपुरको उमामहेश्वर मन्दिरमा पनि संवत् १०७ को अभिलेख छ । जसकारण सुरुमा संवत् मात्रै भन्ने गरिए पनि नेपाल देशको नामबाट बनेको नेपाल संवत् देशको मौलिक र राष्ट्रिय संवत् रहेको संस्कृतिविद्हरु बताउँछन् । यसबाहेक भाषा वंशावलीको कथा, केशर पुस्ताकालयको संक्षिप्त वंशावलीको कथन, पशुपतिको मन्दिरको प्राङ्गणको दक्षिण पेटीमा हातमा शंख लिएको शंखधर साख्वाःको मूर्ति र तोयनाथ पन्तको पुरानो पात्रो नेपाल संवत्का प्रमाणहरु हुन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले तिथि अनुसार नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुको चलन रहेकाले ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको बताउनुभएको छ ।
नेपाल सम्बत ११४२ नयाँ वर्ष शुभारम्भ भएको दिनको अवसरमा काठमाडौंमा निकालिएको ¥यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको छ । जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गर्नुभएको यस सम्बतलाई राष्ट्रिय सम्बत मात्र होइन अन्तराष्ट्रिय सम्बतको मान्यता पाउने विश्वास लिएको धारणा राख्नुभयो ।
प्रधानमन्त्री देउवाले नयाँ वर्षको शुरुवात भएसँगै देशमा शान्ति, उन्नति प्रगति कायम हुँदै कोरोना भाइरसबाट मुक्त हुने चाहना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल भाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले राष्ट्रिय शंखधर शाख्वाः र नेपाल सम्बतसम्बन्धि आफ्नो नयाँ कविता वाचन गरेर आफ्नो धारणा राख्नुभयो । न्हूदँ समारोहको आयोजना नेपाल सम्बत न्हूदँ राष्ट्रिय समारोहका संयोजक निरञ्जनरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । समारोहमा प्रधानमन्त्री देउवाले नेपाल सम्बत ११४२ को भित्रे पात्रो विमोचन पनि गर्नुभयो ।
काठमाडौंमा भाग लिनुअघि प्रधानमन्त्री देउवा ललितपुर र मध्यपुरथिमिमा भएको विशेष शुभकामना समारोहमा उपस्थित हुनुभएको थियो ।