वेष्टर्न अष्ट्रेलियाले अर्को वर्षको फेब्रुअरीमा मात्रै सिमाना खुल्ला गर्ने !

वेष्टर्न अष्ट्रेलियाले अर्को वर्षको फेब्रुअरीमा मात्रै सिमाना खुल्ला गर्ने !



पर्थ, वेष्टर्न अष्ट्रेलिया ।

वेष्टर्न अष्ट्रेलियाले आफ्नो सिमाना आगामी जनवरी अन्त्य वा फेब्रुअरीमा मात्रै खुल्ला गर्ने जनाएको छ । कोभिड १९ कोरोनाको संक्रमणको चपेटामा नपरेको राज्य वेष्टर्न अष्ट्रेलियाले निकै लामो समयदेखि अष्ट्रेलियाकै अन्य राज्यहरुबाट आउने यात्रीहरु र आफ्ना निवासीहरुलाई अन्यत्र जान कडाई गर्दै आएको छ ।

राज्यका प्रिमिय मार्क म्याकग्वानले १२ वर्षभन्दा माथिको उमेर समूहका ९० प्रतिशत जनसंख्याले कोभिड १९ विरुद्धको खोप लगाएपछि मात्रै सिमाना खुला गर्न सकिने बताएका हुन् ।

स्वास्थ्य अधिकारीहरुले यो लक्ष्य प्राप्ति गर्न कम्तिमा पनि जनवरीको अन्तिम वा फेब्रुअरीसम्म लाग्नसक्ने अनुमान गरेका छन् ।
पछिल्लो समय भिक्टोरिया र न्यूसाउथवेल्सले बिहीबारबाट आफ्नो सिमाना खुल्ला गर्ने निर्णय गरेपछि अन्य राज्यहरुलाई दबाब बढेको छ । तर, राज्यहरु यस्तो निर्णय गर्न आफैं स्वतन्त्र भएकोले त्यहाँको राजनीतिक नेतृत्व र स्वास्थ्य अधिकारीहरुको निर्णयमा सिमाना खुल्ला गर्ने विषय भर पर्नेछ ।
यसैबीच, भिक्टोरिया राज्यमा गएको २४ घण्टामा १३ सय ४३ नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

क्वीन्सल्याण्डमा नयाँ संक्रमित छैनन् भने न्यूसाउथवेल्समा यो संख्या २ सय ४९ रहेको छ । उता अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा ६ नयाँ कोरोना संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा कोरोना संक्रमणका कारण अष्ट्रेलियाका विभिन्न राज्यमा गरी १४ जनाको ज्यान गएको छ । जसमध्ये १० जना भिक्टोरिया निवासी छन् ।

उता नर्दन टेरेटोरीमा एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने उनलाई कसरी कोरोना लाग्न पुग्यो भन्ने खुल्न सकेको छैन । यसले राज्यमा अरु पनि संक्रमित हुनसक्ने कुरालाई बढावा दिएको छ जसका कारण स्वास्थ्य अधिकारीहरुलाई चिन्ता थपिदिएको छ ।