काठमाडौँ ।
यती एयरलाइन्सको दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरका आमाछोराको मृत्यु भएको छ ।
महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जीवचन्द्र भट्टकी श्रीमती ५० वर्षीया सुष्मा पाण्डे भट्ट र कान्छा छोरा १६ वर्षीय स्लक भट्टको मृत्यु भएको हो । महेन्द्रनगरमा पशुपति इम्पोरियमका सञ्चालक सञ्जीवचन्द्र भट्टका कान्छा छोरा स्लक हालै मात्र उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए ।
सुष्माका कान्छा ससुरा यज्ञराज भट्टले महेन्द्रनगरको सार्कबाट ०७८ मा एसइई उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययनका लागि स्लक काठमाडौं गएको बताए । स्लक कक्षा ११ मा काठमाडौंको सेन्ट जेभियर्समा अध्ययनरत थिए । ‘भतिज सञ्जीवचन्द्रका जेठा छोरा आशीर्वाद पनि काठमाडौंमै अध्ययन गर्दै आएका छन्,’ उनले भने, ‘यस वर्ष कान्छो नाति पनि अध्ययनका लागि उतै गएको थियो, उनीहरूलाई हेरचाह गर्न बुहारी सुष्मा पनि काठमाडौं नै गएकी थिइन् ।
गत ५ पुसमा भतिज सञ्जीव पनि काठमाडौं गएका थिए ।’सञ्जीवका बहिनीज्वाइँ प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी गण्डकी प्रदेश प्रहरी प्रमुखमा कार्यरत थिए । सञ्जीवकी बहिनी दीपा भट्ट जोशी पनि उतै पोखरामा बस्ने भएकाले माघीका लागि उनीहरूले निम्तो दिएपछि सञ्जीव २८ पुसमै काठमाडौंबाट पोखरा गएका थिए भनेर यो समाचार आजको नयाँ पत्रिकाले लेखेको छ ।
‘नाति स्लकको विद्यालयको आन्तरिक परीक्षा ३० पुसमा सकियो । नाति र बुहारी आइतबार बिहानै उडेका थिए, उता सञ्जीव श्रीमती र छोराको पर्खाइमा थिए, एक्कासी जहाज दुर्घटनाको खबरले स्तब्ध बनायो ।’ सञ्जीवचन्द्रका जेठी छोरी निधि भट्ट डाक्टर र कान्छी छोरी युक्त भट्ट इन्जिनियर छिन् । जेठा छोरा आशीर्वाद भट्ट आइएस्सी अध्ययन गर्दै छन् । अकल्पनीय घटनाले भट्ट परिवारमा बज्रपात परेको छ । सञ्जीवचन्द्र भट्टको महेन्द्रनगरस्थित घरमा आमा माया भट्ट बस्दै आएकी छिन् ।
प्रतिक्रिया