विश्व कप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बंगलादेशमा

विश्व कप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बंगलादेशमा


काठमाडौं, १८ कात्तिक । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली बिहीबार बंगलादेश प्रस्तान गरेको छ । नेपाली टोलीले बंगलादेशमा एक हप्ता तयारी गर्ने छ । बंगलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बंगलादेशमा अभ्यास गर्ने छ ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई छन् । यस्तै सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ । नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहेका छन् ।
आईसीसी महिला टी–२० विश्व कप क्रिकेटको छनोट प्रतियोगिता आउँदो मङ्सिर ३ देखि १३ गतेसम्म युनाइटेड अरब इमिरेटस् (युएई) मा हुनेछ । प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग, दोस्रो खेल मङ्सिर ७ गते भुटानसँग, तेस्रो खेल मङ्सिर ९ गते कुवेतसँग, चौथो खेल मङ्सिर १० गते मलेसियासँग तथा पाँचौँ खेल मङ्सिर १२ गते युएईविरुद्ध खेल्ने तय भएको छ । प्रतियोगिताको शीर्ष टोली आउँदो वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।