राम्रो काम नगरे माओवादी केन्द्रका मन्त्री फिर्ता हुने

राम्रो काम नगरे माओवादी केन्द्रका मन्त्री फिर्ता हुने


काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट सहभागी मन्त्रीहरुले नागरिकको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल संवत् ११४२ को अवसरमा बिहीबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले नागरिकको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताउनुभएको हो । उहाँले पार्टीमा जतिसुकै ठूलो पदको भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा कदम चाल्ने बताउनुभयो । ‘हाम्रा मन्त्रीहरूले नागरिकको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको भए पनि हामी कडा कदम चाल्छौँ । तपाईँहरूको साथ भयो भने नागरिकको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौँ’, उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले देशी, विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताउनुभयो । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड जिउँदै रहुन्जेल माओवादी पार्टी झन् जागेर आउने देखेर खासगरी आफूलाई नै तारो बनाउन खोजेको उहाँको भनाइ छ । उहाँले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । माओवादी बलियो पार्टी भएन भने देश दुर्घटनामा पर्ने खतरा रहेको उहाँले बताउनुभयो ।