कोरोना संक्रमण दर लगातार तेस्रो दिन पनि ५ प्रतिशतभन्दा कम

कोरोना संक्रमण दर लगातार तेस्रो दिन पनि ५ प्रतिशतभन्दा कम


काठमाडौं, १७ कात्तिक । नेपालमा लगातार तीन दिनसम्म कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय १३ जनाको नमुना परीक्षण गर्दा ४ दशमलव ५० प्रतिशत अर्थात् ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार र रोमबार पनि नेपालमा नमुना परीक्षण गरिएकामध्ये पाँच प्रतिशतभन्दा कममा संक्रमण पुष्टि भएको थियो ।
हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १३ हजार आठ सय २८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार सात सय २६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार सय ३९ जना निको भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या सात लाख ९३ हजार दुई सय ७१ पुगेको छ ।
यही अवधिमा सात जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार चार सय ३४ पुगेको छ । अहिले नेपालमा नौ हजार एक सय २३ जना सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७३ लाख ८१ हजार दुई सय दुई जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने ८७ लाख १९ हजार नौ सय ९५ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।