विश्वासको मत दिँदैमा सत्ताधारी हुने कहाँको व्याख्या हो : नेता नेपाल

विश्वासको मत दिँदैमा सत्ताधारी हुने कहाँको व्याख्या हो : नेता नेपाल


काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्ताधारी नहुने बताएका छन् । बुधबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरुलाई अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले चर्चा गरिए जस्तो विश्वासको मत दिएपछि सत्ताधारी नहुने व्याख्यालाई आफूले नबुझेको बताए ।

‘विश्वासको मत दिइसकेपछि सत्ताधारी पार्टी हुन पुग्दछ ? यो कहाँको व्याख्या हो मैले बुझ्न सकिनँ’, उनले भने ।

आफ्नो तर्कका लागि उनले २०५१ सालको सन्दर्भ अगाडि सार्दै उनले भने, ‘हाम्रै देशको सन्दर्भमा भन्ने हो भने २०५१ सालमा जतिखेर हाम्रो पार्टी सरकारमा थियो । त्यो सरकारको म आफैं उपप्रधानमन्त्री थिएँ । रक्षा र परराष्ट्रमन्त्री थिएँ । अहिलेका एमालेका नेता आफैं गृहमन्त्री हुनुहुन्थ्यो। त्यो अल्पमतको सरकारलाई नेपाली कांग्रेसले के गरेको थियो भन्ने कुरालाई स्मरण गर्नुपर्दैन ?’, उनको प्रश्न थियो।

त्यतिबेला पनि नेपाली कांग्रेसले आफूहरुको अल्पमतको सरकारलाई विश्वासको मत दिएको उनले स्मरण गरे । ‘विश्वासको मत नदिएको भए सरकार गिर्ने थियो र चुनावमा जानुपर्ने हुन्थ्यो। अनि विश्वासको मत दिए पनि नेपाली कांग्रेस प्रतिपक्षमै बसेको थियो । हाम्रो विगतको अनुभव छैन ? अनि के यो नयाँ संविधानले त्यो व्याख्या गलत हो भन्ने कुरालाई अगाडि सारेको छ ?’, उनले थपे।