मेलबर्न अष्ट्रेलिया ।
पृथ्वीनारायण शाहको जन्म जयन्तीको अपसरमा अष्ट्रेलियामा अन्तर्राष्ट्रिय नेपाली दिवस मनाइने भएको छ। हरेक वर्षझैँ यस वर्ष पनि अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाउने भएका हुन्।
क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानिया र डार्बिनमा विभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाउन लागिएको आयोजकले जनाएको छ। न्यु साउथ वल्सको औबर्न पार्क हचिन्सन स्ट्रीटमा बुधवार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने मदनमणि अधिकारीले जानकारी दिए।
अष्ट्रेलियाका नेपालीले पुस २७ लाई नेपाली दिवसको रूपमा मनाउने गरेको भन्दै पृथ्वी नारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपाली भनेर चिनिन पाएको आयोजक कमिटीका सदस्य अधिकारीले बताए। उनले पृथ्वी जयन्तीको दिनलाई‘ अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउने गरेको बताए।
सामाजिक अभियन्ता डिला खरेलले अष्ट्रेलियामा पृथ्वी जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउन थालेको लामो समय भएको बताए। उनले सन् २०१० देखिनै अष्ट्रेलियामा नेपाली समुदायले पुस २७ लाई पृथ्वी जयन्ती तथा नेपाली दिवसको रूपमा मनाउँदै आएको बताए। नेपाली हुनुको आत्म बोध र आगामी पुस्तालाई नेपाली राष्ट्रियतासँग साक्षात्कार गराउने महान् दिनको रूपमा यसलाई लिन सकिने उनको धारणा छ।
पृथ्वी नारायण शाहको सम्बन्धमा गलत कथा बुन्ने र स्थापित गर्नका लागि तथाकथित बुद्धिजिवीहरू लागेको भन्दै आयोजक कमिटीका सदस्य तथा युवा अभियन्ता दीपक पौडेलले दुखेसो गरे। उनले नेपाल एकीकरण र नेपाली राष्ट्रियताको मियोका रूपमा पृथ्वी नारायण शाहलाई लिनुपर्ने बताए। पृथ्वी नारायण शाहको एकता अभियानको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा संसारभर छरिएर रहेका नेपालीले लिनुपर्ने उनको भनाइ छ।
बुधवार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्ने नेपालीहरूले विभिन्न कार्यक्रम गरी पृथ्वी नारायण शाहको सम्झना गर्ने कार्यक्रम तय भएको छ। अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रम नेपालीहरूको घना बसोबास भएको ओबनमा हुन लागेको छ।
प्रतिक्रिया