एमालेले सबै सरकारको नेतृत्व गुमायो, संघदेखि प्रदेशसम्म नै प्रतिपक्षी कित्तामा

एमालेले सबै सरकारको नेतृत्व गुमायो, संघदेखि प्रदेशसम्म नै प्रतिपक्षी कित्तामा


काठमाडौं, १५ कात्तिक । संघीय सरकारको नेतृत्व गुमाएको नेकपा एमालेले त्यसपछि लगालग प्रदेश सरकारको समेत नेतृत्व गुमाएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै अब एमाले संघीय र प्रदेश  सबैतिर प्रतिपक्षी कित्तामा पुगेको छ । २०७४ को  प्रतिनिधिसभा र प्रदेश सभाको चुनावपछि एमालेमात्रै को नेतृत्वमा संघीय सरकार र चारवटा प्रदेश सरकार बनेका थिए । प्रदेश नं. १ मा सोमबार आचार्यको राजीनामासँगै एमाले संघ र प्रदेश सबैतिर विपक्षमा पुगेको हो । गत भदौ १० मा मुख्यमन्त्री बनेका आचार्यको सरकारले ६८ दिनमै ढलेको छ ।

नेकपा विभाजनको कारण यसअघि एमालेले संघीय सरकार, गण्डकी र लुम्बिनीको प्रदेश सरकार गुमाएको थियो । गत भदौमा एमाले पनि विभाजित भएपछि वाग्मती र प्रदेश १ को सरकार पनि गुमायो । २०७४ सालको आमनिर्वाचनमा प्रदेश १ र वाग्मती दुवैमा एमालेको एकल बहुमत प्राप्त गरेको थियो । तर भदौ ९ गते एमाले औपचारिक रुपमा विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि दुवै प्रदेशमा बुहमत गुमाएको हो । २०७४ सालको आमनिर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धनले संघीय प्रतिनिधिसभामा करिब दुई तिहाइ स्थान र सातमध्ये ६ वटा प्रदेशमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । चुनावपछि कर्णाली र सुदूरपश्चिम दुई प्रदेशको नेतृत्व माओवादी केन्द्रको भागमा परेको थियो । चुनावी गठबन्धन सुरु गर्दा एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता भएको थियो ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेकपा विभाजन गर्न वैधानिक बाटो खोलिदिएको थियो । विभाजित भएपछि माओवादी केन्द्रले एमाले बाहेकका अन्य राजनीतिक दलसँग गठबन्धन गरेर दुवै सरकार जोगाएको मात्र छैन लुम्बीनी प्रदेशमा पनि सरकारको नेतृत्व लिएको छ । संघीय प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको एमालेविरुद्ध केन्द्रमा पाँच दलको गठबन्धन छ । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा छन् । जनमोर्चा बाहेक अन्य राजनीतिक दलहरू केन्द्र र प्रदेशको सरकारमा सहभागी छन् ।

गत बुधबार मात्रै एमालेले वाग्मती प्रदेश सरकार गुमाएको थियो । वाग्मती प्रदेशमा भदौ २ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भदौ १० गते आचार्यलाई एमालेले मुख्यमन्त्री बनाएको थियो । त्यसैगरी गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशमा शंकर पोखरेल एमालेबाट मुख्यमन्त्री बनेका थिए । एमालेले गुमाएको गण्डकी प्रदेशमा कांग्रेस र लुम्बिनीमा माओवादी केन्द्रका मुख्यमन्त्री भएका छन् । त्यसैगरी वाग्मती प्रदेशमा नेकपा (एस)का उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनेको छ । प्रदेश १ मा नेकपा (एस) कै नेता राजेन्द्र राई मुख्यमन्त्री बनाउने गठबन्धनभित्र सहमति भएको छ ।