कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुरको राजीनामा, जीवनबहादुर नयाँ मुख्यमन्त्री बन्ने !

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुरको राजीनामा, जीवनबहादुर नयाँ मुख्यमन्त्री बन्ने !


काठमाडौं, १५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री शाहीले सोमबार मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताउनुभयो । संघीयता कार्यान्वयनका क्रममा आफू नेतृत्वको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, संघीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडोर राष्ट्रिय प्रसारण लाइनको योजना अगाडि बढाइएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले समृद्धिको आधार खडा गरी प्रदेश सरकारले समृद्धिको जग बसालेको भन्दै पर्यटन गुरुयोजना निर्माण, यस प्रदेशका सात सय १८ वटै वडापालिकामा दुई अर्ब ९६ करोड रुपैयाँ बजेट परिचालन, सुर्खेत उपत्यका खानेपानीको सम्भाव्यता अध्ययन, विद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, जडीबुटीलगायत क्षेत्रको विकासका योजनाहरू अगाडि बढाइएको जानकारी दिनुभयो ।

गएको वैशाख २ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिनुभएको हो । त्यतिबेला नेपाली कांग्रेस र अहिले सरकार चलाइरहेको नेकपा माओवादी केन्द्रबीच प्रदेशमा सरकार पालैपालो चलाउने सहमति भएको थियो । माओवादीले बढीमा कात्तिक १५ गतेसम्म सरकार चलाउने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो । त्यही सहमतिअनुसार अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्नु हुनेछ ।