प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी


काठमाडौं, १५ कात्तिक । प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । उहाँले एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ ।
प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ । सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार दिउँसो शपथग्रहण गराइने भएको छ । मंगलबार सानो आकारको मन्त्रीमण्डल बनाउने गठबन्धनको तयारी छ ।