आयातित वस्तुमा बढी ऋण प्रवाह हुँदा तरलता अभाव : गभर्नर अधिकारी

आयातित वस्तुमा बढी ऋण प्रवाह हुँदा तरलता अभाव : गभर्नर अधिकारी


काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले आयातित वस्तुमा अत्यधिक ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी मात्रामा आयातित वस्तुमा ऋण प्रवाह हुँदा यो समस्या देखिएको बताउनुभएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमवार काठमाडौंमा गरेको ‘गहिरिँदो तरलता अभाव ः कारण र समाधान’ विषयक अन्तक्र्रियामा उहाँले कोभिडका कारण रेमिट्यान्स घट्नु, कर्जा प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘देशको राजनीतिको पनि असर भयो । सरकार फेरियो, सरकार फेरिएपछि बजेटमा पुनर्विचार भयो, पुनर्विचार गर्ने भएपछि सुरुमै खर्च गर्ने अवस्था भएन, यसको असर पनि तरलतामा प¥यो । तर पछिल्लो दिनमा खर्च भएको अवस्था छ । हामीकहाँ समस्या भनेको हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी आयातको वृद्धिमा गाँसिएको देखिन्छ । गएको ऋणमध्ये ५० प्रतिशतभन्दा बढी आयातमा खर्च भइरहेको पाउँछौँ । यसले पनि बैंकिङ क्षेत्रमा तरलताको अवस्था देखिएको छ ।’
गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरूलाई सचेत गराउनुभयो । उहाँले सस्तो ब्याज दरमा ऋण दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने अवस्था आएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण ४५ लाख लगानीकर्ता प्रभावित भएको बताउनुभयो । उहाँले ब्याज दर बढ्नुले साना उद्यमी, व्यवसायीहरूको पुनर्उत्थान तत्काल गर्न सकिने अवस्था नरहेको गुनासो पनि गर्नुभयो । २०७६ चैतदेखि कात्तिकसम्म ऋणको माग खासै नभए पनि त्यसपछि माग ह्वात्तै बढ्दा बैकिङ क्षेत्रमा तरलताको अवस्था आएको हो । २०७६ चैतदेखि अहिलेसम्म १२ खर्ब तीन अर्ब रुपैयाँ ऋण जारी भएको छ । तर त्यही अनुपातमा निक्षेप संकलन नभएको गर्भनर अधिकारले स्पष्ट पार्नुभयो ।