अष्ट्रेलियामा पिआर सजिलै पाइन लागेको हो ? के भन्छन् त रजिस्टार माइग्रेसन एजेन्ट 

अष्ट्रेलियामा पिआर सजिलै पाइन लागेको हो ? के भन्छन् त रजिस्टार माइग्रेसन एजेन्ट 


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलिया सरकारले पछिल्लो समय स्थायी वसोवास (पिआर)को आवेदनको प्रक्रियामा सहजता ल्याएको छ। एन्थोनी अल्बानिज प्रधानमन्त्रीमा निर्वाचन भएसँगै अष्ट्रेलियाको श्रम बजारले झल्दै आएको दक्ष कामदारको आपूर्तिमा सहजता ल्याएको छ। सरकारले ३० हजार स्थायी बसोवासका लागि आवेदन माग गरेको छ। पिआर आवेदनमा अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कतिको सहज भएको छ ? कस्ता व्यक्तिले पिआरमा आवेदन दिन पाउँछन् ? र कुन विषय पढेकालाई सरकारले पिआर दिइरहेको छ ? भन्ने विषयको सेरोफेरोमा रहेर केबीसी अष्ट्रेलियाले रजिस्टर्ड माइग्रेसन एजेन्ट एकेन्द्र बहादुर अधिकारीसँग कुराकानी गरेका छोँ । यस्तो कुराकानीको सम्पादित अंशः

पछिल्लो समय अष्ट्रेलिया सरकारले पिआर दिने दरमा बृद्धि गर्नुको कारण के होला ?

अष्ट्रेलिया सरकारले पछिल्लो समयमा पिआर दिने संख्या वृद्धि गरेको छ। यहाँ देखिएको दक्ष कामदारको अभावले नै पिआर दिने दरमा वृद्धि गरेको देखिन्छ । अहिले अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा मजदुरको चरम अभाव रहेको छ। ग्रामीण क्षेत्रको मजदुरको अभाव र दक्ष कामदारको आवश्यकतालाई ध्यानमा राख्दै एन्थोनी अल्बानिज नेतृत्वको नयाँ सरकारले पिआरको संख्यासँगै यसको प्रक्रियामा पनि सहजता ल्याएको बुझ्न सकिन्छ।

अष्ट्रेलिया सरकारले गरेको यो निर्णयले कस्ता नेपाली लाभान्वित होलान ?

अष्ट्रेलिया सरकारले पिआर दिने नियम परिवर्तनले गर्नाले यहाँ रहेका नेपालीहरू पक्कै पनि लाभान्वित हुने छन्। मुख्यतया हस्पिटालिटी, मेडिकल क्षेत्रमा काम गरिरहेका दक्ष कामदारले पिआरको परिवर्तित नियमबाट फाइदा लिन सक्नेछन्। यस्ता कामदारको पिआरको प्रक्रिया पनि छिटो हुने गरेको छ। पछिल्ला केही वर्षदेखि एकाउन्टिङ लगायत अन्य पेसाका भाइबहिनीहरू पिआरको लागि धेरै नै रुमल्लिनु भएको थियो। नयाँ सरकारले ल्याएको पिआरको खुकुलो नीतिले उहाँहरू सहरी क्षेत्रमा अथवा ग्रामीण क्षेत्र जता भए पनि पिआरको प्रक्रियामा जानु भएको छ। सायद परिवर्तित नियमले धेरै क्षेत्रमा काम गर्ने नेपाली भाइ(वहिनीहरुलाई ठुलो राहत पुगेको महसुस भएको छ।

के अष्ट्रेलिया सरकारले आप्रवासी कामदारको आवश्यकतालाई परिपूर्ति गर्न लागेको हो ?

अष्ट्रेलिया सरकारले पक्कै पनि आप्रवासी कामदारको आवश्यकतालाई परिपूर्ति गर्न लागेको देखिन्छ। किन भने विगतको ग्राफ नै हेर्ने हो भने पनि अष्ट्रेलियामा अहिले दक्ष कामदारको एकदमै अभाव छ। दक्ष कामदारको अभावका कारण कतिपय व्यवसाय बन्द गर्नु परेको थुप्रै उदारणहरु छन्। व्यवसाय हप्ताको पुरै दिन चल्न सक्ने अवस्था पनि छैन। मजदुरको अभावले ग्रामीण क्षेत्रका फार्महरू त्यतिकै पीडित छन्। पछिल्लो समय अष्ट्रेलियामा दक्ष कामदारको एकदम विकराल समस्या छ। यो परिपूर्ति गर्नलाई नै सरकारले एक कदम अगाडि सोचेर आप्रवासी कामदारलाई पनि ल्याएर यहाँको समस्या समाधान गर्ने जुन नीति ल्याएको छ। यो पक्कै पनि आप्रवासी कामदारहरूका लागि पनि खुःसीको करा हो भने अष्ट्रेलियाको स्थानीय अर्थतन्त्रलाई पनि एकदमै राम्रो हो।

अस्ट्रेलिया सरकारले दिन लागेको स्थायी बसोबासको मापदण्ड के–के हुन ?

अस्ट्रेलिया सरकारले पिआर दिने नीतिले कतिपय भिजाको प्रक्रिया पनि छिटो भएको देखिन्छ। जस्तै की नर्सिङ ओभर्सिसबाट आएका कामदारको पनि पिआरको प्रक्रिया छिटो भएको छ। समग्रमा हेर्ने हो भने नयाँ सरकार आएसँगै बितेका दुई वर्षमा जति कठिनाइहरू थिए भिजाको प्रक्रिया देखि लिएर सबै कामहरू एकदमै अप्ठ्यारो थियो त्यो अहिले सहज भएको छ।

पहिलेको तुलनामा अहिले पिआर दिँदा अष्ट्रेलिया सरकारले नीतिमा केही खुकुलो पारेको हो ?

अष्ट्रेलियाले आप्रवासी नीति नियम खुकुलो बनाउँदै लग्छ होला जस्तो लाग्छ। जुन पछिल्लो समय एकै चोटि ३० हजार भिजाको आवेदन माग गरेको थियो। यो भनेको सायद अष्ट्रेलियाको इतिहासमै यती धेरै आवेदन माग गरिएको पहिलो पटक हो। पिआरको प्रक्रियामा खुकुलोपना ल्याउनु, सरकारले प्रक्रियालाई थप सहज बनाउने प्रतिबद्धता जनाउनु जस्ता कार्यले गर्दा अष्ट्रेलियाले पिआरको नीतिमा केही खुकुलो पारेको देखिन्छ।। अष्ट्रेलिया आउने र अष्ट्रेलियामा काम गर्नेहरूका लागि पक्कै पनि अगाडिका दिनहरू सुखद रहन्छ होला।

अष्ट्रेलिय पढ्न आउने विद्यार्थिले कस्ता विषय पढ्दा पिआर पाउन सजिलो हुन्छ ?

अष्ट्रेलियाले आफ्नो शिक्षा क्षेत्रलाई ट्रेड क्वालिफिकेसन र प्रोफेस्नल लेवलको क्वालिफिकेसन गरी दुई तहमा विभाजन गरेको छ। पछिल्लो पाँचदेखि १० वर्षमा यी दुबै क्षेत्रका मान्छेहरु चाँही धेरैमात्रामा नै चाहिन्छन्। श्रम बजारको अहिलेको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै माग रहेको देखिन्छ। स्वास्थ्य क्षेत्रमा अझै ५–१० वर्ष दक्ष कामदारको अभाव नै देखिने अवस्था छ। यो क्षेत्रमा कामदार परिपूर्ति गर्न अष्ट्रेलियाका नागरिकले मात्र पुग्दैन। त्यस्तै अर्को भनेको अष्ट्रेलियाको ठुलो लगानी आइटी स्यकुरिटी अथवा आइटी अकोपेसनमा पनि देखिन्छ। त्यो पनि एउटा क्षेत्र हुनसक्छ जहाँ भाइबहिनीहरुले आफ्नो चाहना अनुसार पढ्न सक्छन्। ट्रेड अकोपेसनमा हेर्दा अहिलेको सबैभन्दा ठुलो दक्ष कामदारको अभाव हस्पिटालिटी (कुक,सेफ), कारपेन्टर र मेकानिक्स लगायतका अकोपेसनमा पनि दक्ष कामदारको अभाव देखिन्छ। सायद यस्ता चिजहरूलाई ध्यानमा दिएर पढ्दै जानु भयो भने अगाडिका वर्षहरूमा आफ्नो करियर र यहाँको श्रम बजारमा पनि सजिलै टिक्न सकिने अवस्था देखिन्छ।