प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित !

प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित !


काठमाडौं, १४ कात्तिक । प्रदेश नं. १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । विपक्षी गठबन्धनले राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन् । आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईलाई अघि सार्ने निर्णय गरेका हुन् ।
नेकपा एमाले विभाजित भएपछि मुख्यमन्त्री भीम आचार्य अल्मतमा पर्नुभएको छ । गत भदौ १० गते नियुक्त हुनुभएका मुख्यमन्त्री आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गठबन्धनले गरेको छ । आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको गठबन्धनले प्रदेश प्रमुखबाट आह्वान भएपछि राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।
बैठकले मन्त्रालय भागबण्डा र कांग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्ति पछि छलफल गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीमा कांग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको छ । कांग्रेसको मागका विषयमा गठबन्धनमा रहेका दलहरुले शीर्ष नेतालाई जानकारी गराउने सहमति गरेका छन् ।
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् । गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।