मेलबर्न, अष्ट्रेलिया ।
प्रवासी नेपाली मञ्च अष्ट्रेलिया भिक्टोरिया शाखाले आगामी आईतबार ८ जनवरीमा नयाँवर्ष बार्बिक्यू आयोजना गर्ने भएको छ । अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समूदायबीच शुभकामना आदानप्रदान गर्न कार्यक्रम गरिएको हो । स्थानीय ब्रोडमेडोजको व्याक रोपर रिजर्म पार्क, क्याम्प रोडमा आयोजना गरिएको बार्बिक्यू तथा शुभकामना आदान प्रदानमा सहभागी हुन प्रवासी नेपाली मञ्च भिक्टोरियाका संयोजक द्रोण पन्तले सबैलाई आग्रह गरे ।
उनका अनुसार यस बाबिक्यूमा मेलबर्नको नेपाली समूदायका अगुवाहरुलाई आमन्त्रण गरिएको छ । उनी भन्छन् “अंग्रेजी नयाँवर्षको अवसरमा हामीले आपसी भाईचारा र सद्भाव अभिबृद्धिका लागि यो कार्यक्रम राखेका हौं । समूदायमा निस्वार्थ रुपमा खट्ने स्वयंसेवीहरुलाई सम्मान पनि हो यो कार्यक्रम । प्रवेश निःशुल्क गरिएको छ । यसअघि पनि हामीले नयाँ वर्षमा शुभकामना कार्यक्रम गर्दै आएका थियौं । यसअघिझैं यस पटकपनि तपाईंहरुलाई सहभागिताकालागि आग्रह गर्दछु ।”
प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलियाका सचिव विरोध थिङले मेलबर्नमा बसोबास गर्ने नेपाली विद्यार्थी युवाहरुलाई पनि कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । प्रवासी नेपाली मञ्चका भिक्टोरिया संयोजक विकास सिलवालले भने “घरभन्दा टाढा रहेका हामी सबैजना नयाँ वर्षको बेला शायद काममा व्यस्त पनि थियौं होला । यो आईतबार सबै भेला भएर बार्बिक्यू गर्दै नयाँ वर्ष मनाउन सबैलाई निम्तो छ ।”
दिउँसो २ बजेदेखि सुरु हुने बार्बिक्यू साँझसम्म चल्ने जानकारी आयोजकले दिएका छन् । उक्त अवसरमा बार्बिक्यूसँगै विविध मनोरञ्जनात्मक गतिविधि पनि गरिनेछ ।
प्रतिक्रिया