एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित

एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित


काठमाडौं, १४ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार भएको खेलमा नेपाल लेबनानसँग चार–शून्य गोलअन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक÷एक गोल गरे । प्रतियोगितामा नेपाल जितविहीन भयो । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग चार–शून्य गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलअन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान तीन अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
यो समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अंक नै रहेको इरान दोस्रो स्थानमा रहेको छ । यो समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आउँदो सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ ।