प्रकृति संरक्षणमा स्थानीयको सहभागिता बढाउन राष्ट्रपतिको सुझाव

प्रकृति संरक्षणमा स्थानीयको सहभागिता बढाउन राष्ट्रपतिको सुझाव


काठमाडौं, १३ कात्तिक (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिक संरक्षणमा स्थानीय सहभागितामा ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रको अवलोकनका लागि ढोरपाटन पुग्नुभएका राष्ट्रपति भण्डारीले बन्यजन्तु तथा वातावरण संरक्षणमा जोड दिनुभएको हो ।
शनिबार दिउँसो शिकार आरक्षको अवलोकनमा पुग्नुभएका भण्डारीले ढोरपाटन शिकार आरक्ष तथा आरक्षको सुरक्षार्थ तैनाथ शत्रुमर्दन गुल्मकोबारेमा जानकारी लिनुहुँदै संरक्षणमा राष्ट्रसेवक कर्मचारी, संरक्षणकर्मीले स्थानीय जनतालाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । नेपालको एकमात्र शिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा विदेशी शिकारी पर्यटकको बढ्दो आकर्षण, यहाँको पर्यटकीय, सुरक्षा तथा मध्यवर्तीक्षेत्र घोषणमा भइरहेको प्रगतिकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएको थियो । आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले आरक्षमा रहेको सङ्ग्राहलयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गर्नुभएको थियो । एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ ।