कोरोनाका संक्रमित कम हुँदै, सक्रिय संक्रमितको संख्या १० हजारभन्दा कम

कोरोनाका संक्रमित कम हुँदै, सक्रिय संक्रमितको संख्या १० हजारभन्दा कम


काठमाडौं, १३ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै आएको छ । कोरोना संक्रमण दर कम हुँदै जाँदा सक्रिय संक्रमितको संख्या १० हजारभन्दा कममा झरेको छ । पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६ जनामा झरेको हो । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलोपटक सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको हो ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९१ हजार २ सय ६९ जना पुगेको छ । यसैबीच, कोरोना सक्रमण पनि पाँच प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ११ जनाको नमूना परीक्षण गर्दा ३ सय ७२ जना अर्थात् ४ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार तीन सय ९९ जना पुगेको छ । यस्तै २४ घण्टामा थप एक लाख ७३ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ६७ हजार चार सय २७ जनाले कम्तिमा एक मात्रा र ७१ लाख ५२ हजार ३९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।