ए डिभिजन लिगको तालिका सार्वजनिक, उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो युथ भिड्ने

ए डिभिजन लिगको तालिका सार्वजनिक, उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो युथ भिड्ने


काठमाडौं, १२ कात्तिक । शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटीले शुक्रबार ए डिभिजनका १४ क्लबका प्रतिनिधिको उपस्थितिमा टाइ सिट सार्वजनिक गरेको हो । यही कात्तिक २९ गतेदेखि हुने लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । करिब चार महिना चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने लिग कमिटीका निर्देशक सञ्जीव मिश्रले बताए । खेल बेलुका ५ बजे दशरथ रंगशालामा हुनेछ ।
यस्तै दोस्रो दिन हिमालयन शेर्पा क्लबले संकटा क्लबसँग खेल्नेछ । खेल एन्फा कम्प्लेक्समा १२ बजे शुरु हुनेछ । दोस्रो दिनै च्यासल युथ क्लब र थ्री स्टार क्लबीच दोस्रो खेल हुनेछ । यसपटक खेल खेलाईने स्थान समेत थपिने भएको छ । मिश्रले च्यासल मैदान पनि लिगका लागि प्रयोग गरिने बताए । लिगमा कुल १३ राउण्डमा ९१ खेल हुनेछ । पुस अन्तिममा ९ राउण्डसम्मको खेल सकाउने र त्यसपछि फिफा म्याच डे मा लिग को खेल नगर्ने मिश्रले बताए । लिग फागुन १४ गतेसम्म चल्नेछ । पहिलो दुई राउण्डको समय र खेल स्थान पनि सार्वजनिक गरिएको छ ।
पहिलो दिन एक खेल मात्र हुनेछ । त्यसपछि दैनिक दुई खेल हुनेछ । जसमा पहिलो खेल १२ बजे र दोस्रो खेल ३ बजे शुरु हुनेछ । यस्तै दोस्रो राउण्डमा एकै दिन ३ खेलसम्म खेलाउने तालिका छ । जसमा दुई खेल एकै समयमा राखिएको छ ।