एमालेले महाधिवेशनमा प्रतिनिधि १ हजार ९ सय ९९ पु-याउने

एमालेले महाधिवेशनमा प्रतिनिधि १ हजार ९ सय ९९ पु-याउने


काठमाडौं, १२ कात्तिक । नेकपा एमालेले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या वृद्धि गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाएर १ हजार ९ सय ९९ पु¥ययाने निर्णय गरेको हो ।
केन्द्रीय सदस्यहरुले प्रतिनिधि संख्या बढाउन सुझाव दिएपछि करिब चार सय प्रतिनिधि थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले आउँदो कात्तिक २७ गते देशभर एकै साथ प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यक्रम पनि तय गरेको छ ।
त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा दुई सदस्य थप गरेर २३ पु¥याउने निर्णय पनि गरेको छ । पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ । मेशिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो । बैठकले पार्टीको अर्काे केन्द्रीय कमिटीको बैठक आउँदो मङ्सिर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।
बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन पार्टीका नेता, कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ । उहाँले बाँकी रहेका पार्टीको वडा र पालिका अधिवेशन छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीका नेताहरूलाई सचेत गराउनुभएको पार्टीका प्रवक्ता ज्ञवालीले बताउनुभयो ।