मेलबर्न अष्ट्रेलिया ।
नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले आयोजना गरेको ‘१८औँ एनएभी क्रिकेट कप २०२२’ को तयारी अन्तिम चरणमा पुगेको छ। १५ जनवरी २०२३ मा हुने क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
म्याक्सी म्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेज मुख्य प्रायोजन र ब्राईटन कलेजले सहप्रयोजन गरेको प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने छन्।
एक्सपर्ट सगरमाथा ब्लुज ‘ए’, सगरमाथा एक्सपर्ट ‘बी’, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स गरी १२ टिमले नामदर्ता गराएको आयोजकले जनाएको छ।
टि–ट्वान्टी र लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ३००० अष्ट्रेलियन डलर र दोस्रो हुने टिमलाई नगद एक हजार अष्ट्रेलियन डलर र ट्रफी पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको पुरस्कार वितरण समारोहमा नेपाली क्रिकेट टिमको पूर्व कप्तान पारस खड्कालाई सम्मान गरिनेछ। कार्यक्रममा कान्तिपुर खेलकुद ब्यूरो प्रमुख विनोद पाण्डेलाई पनि निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएको छ। उनी किड्स क्रिकेट क्याम्पमा सहभागी हुनेछन्।
न्याभले सन् २०१९ बाट नेपाल र अष्ट्रेलियामा आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले च्यारिटी खेलहरू आयोजना गर्दै आएको छ। गत वर्ष एएनएमसीलाई पाँच हजार अष्ट्रेलियन डलर सहयोग गरेको थियो।
यस वर्ष भने च्यारिटी खेल मार्फत उठेको सहयोग रकम संस्थाले न्याभको मातहतमा रहेको नेपाली भाषा पठनपाठन गराउने विद्यालय न्याभ बालचौतारीलाई सहयोग गर्ने खेलकुद संयोजक दिप चन्दले बताए।
१५ जनवरी २०२३ बाट शुरु हुने यो प्रतियोगिताको फाइनल म्याच २२ मार्च २०२३ मा सम्पन्न हुनेछ।
प्रतिक्रिया