प्रधानन्यायाधीशलाई राजीनामा दिन बारको ५ दिने अल्टिमेटम

प्रधानन्यायाधीशलाई राजीनामा दिन बारको ५ दिने अल्टिमेटम


काठमाडौं, १२ कात्तिक । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले शुक्रबार कार्यसमितिको बैठकबाट दबावमूलक आन्दोलन घोषणा गरेको छ । आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बुधबारसम्म बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।

त्यसैगरी प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि बैठकले आग्रह गरेको छ । त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धीकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ । बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश जबराले न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिनुपर्ने निर्णय गरिसकेको छ ।