मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरिया राज्यमा गएको तीन दिनभित्र पानीमा डुबेर या यस सम्बन्धी दुर्घटनामा चार जनाको निधन भएको छ । यहाँका प्रिमियर डेनियल एन्ड्रयूजले एक वक्तव्य जारी गर्दै सावधानी अपनाउन अपिल गरेका छन् । गर्मीका कारण पानीमा आराम भन्दै पस्नेहरु र बिदाको समयमा रमाइलोको लागि जानेहरु दुर्घटनामा परेका हुन् ।
भिक्टोरियाको उत्तरी क्षेत्रमा पर्ने लेक नागम्बीमा मंगलबार एक पाँच वर्षीय बालिकाको मृत्यु भएको छ । आमाबाबुसँगै उक्त तालमा पुगेकी उनी अचानक गायब भएकी थिइन्। त्यसपछि आपतकालीन सेवामा खबर गरेपछि प्रहरी आएर खोजी कार्य अघि बढाएको थियो । पछि उनी मृत फेला परिन् ।
यस्तै सोमबार एक १७ वर्षीय किशोर मेलबर्नको समुद्री तटमा मृत फेला परेका छन् । फुटबल खेलाडीसमेत रहेका निक मान समुद्री छालमा परेका थिए । यस्तै सोमबार नै ३७ वर्षीय व्यक्ति आफ्नो कुकुर पानीमा गएपछि उसलाई बचाउन जाँदा ज्यान गुमाउन पुगेका छन् । लेक ह्युममा भएको घटनामा संलग्न प्रहरीहरुले पानीमा नै उसलाई स्वास्थ्यमा समस्या देखिएपछि डुबेको अनुमान गरेका छन् ।
अर्कोतर्फ क्रिमसको दिन एक १९ वर्षीय किशोरले कुम्बरल्याण्ड नदी र समुद्र जोडिने ठाउँमा डुबेर ज्यान गुमाएका छन् । यस्तै एक सानो बोट पल्टिँदा त्यसमा सवार ४ जनालाई उद्धार गरिएको छ । सोमबार राति सेन्ट किल्डा बिचमा पानीमा डुब्न लागका १० र ११ वर्षीय दुईजनालाई उद्धार गरिएको छ ।
अहिले अष्ट्रेलियामा गर्मी मौसम छ । डिसेम्बर महिनाभर सबै राज्यमा गर्मीका दिनहरु रहनेछन् । यसमाथि डिसेम्बर मध्यदेखि जनवरीको मध्यसम्म अधिकांश कार्यालयहरु बन्द हुने र बिदाको समय चाडवाडमा सबैजना मस्त रहने कारण रमाइलोका लागि गर्मी छल्नका लागि पानीमा जाने गर्दछन् । यही समयमा धेरैजना दुर्घटनामा पनि पर्दछन् । यो अवधिमा सडक दुर्घटना र पानीमा परेर हुने दुर्घटनाका कारण कैयौंले ज्यान गुमाउने गरेका छन् ।
सरकारी अधिकारीहरुले पानीमा जाँदा अधिकतम सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया