भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस


काठमाडौं, ११ कात्तिक । सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत बनाउने सिफारिस गरेको हो ।

राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुनुहुन्छ भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसैगरी आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएर राष्ट्रसंघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत हुनुभएको थियो । यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार रहनुभएको थियो ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बेलायत जाँदै हुनुहुन्छ ।

राजदूत नियुक्ति सन्दर्भमा गठबन्धनका नेताहरुबीच छलफल हुँदा माओवादी र एकीकृत समाजवादीका नेताहरुले खाली रहेका सबै राजदूत एकैपटक सिफारिस गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर देउवाले बेलायत भ्रमणमा जानुअघि शक्तिराष्ट्रका रुपमा चिनिने भारत, अमेरिका र बेलायतका राजदूतमात्रै पहिलो चरणमा नियुक्त गर्न सुझाएपछि बाँकी राजदूत नियुक्त नगरिएको बताइएको छ ।