नेपालमा कोरोना संक्रमण दर करिब ५ प्रतिशतमा झ-यो

नेपालमा कोरोना संक्रमण दर करिब ५ प्रतिशतमा झ-यो


काठमाडौं, ११ कात्तिक । नेपालमा कोरोना संंक्रमण दर न्यून हुँदै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशत नजिक झरेको छ । पीसीआर र एन्टिजेन विधि गरी ११ हजार ३ सय ५५ जनाको नमूना परीक्षण गर्दा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये पाँच दशमलव दुई प्रतिशतमा संक्रमण देखिएको हो ।

बिहीबार थप भएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख ११ हजार ४ सय ७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८९ हजार सात सय ८९ पुगेको छ । यही अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ पुगेको छ । अहिले नेपालमा १० हजार २ सय ३६ जना सक्रिय संक्रमित छन् ।