१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउँछौं : स्वास्थ्यमन्त्री खतिवडा

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउँछौं : स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौं, ११ कात्तिक (रासस) । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालबालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालबालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपछि नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । ‘बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ’, उहाँले भन्नुभयो, ‘तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौं ।’

भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उहाँको भनाइ छ । अहिले १२ वर्षभन्दा माथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोडर्ना खोप ल्याउन थालेको छ । केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो ।

मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिनुभयो । ‘हामीले खोपका लागि पैसा पनि तिरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ ।’ ती दुबै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । उहाँले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो । ‘यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए’, उहाँले भन्नुभयो, ‘तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिइँदैन ।’

मन्त्री खतिवडाले कोरोना भाइरसको उपचार गरेका केही अस्पतालले तोकेभन्दा बढी पैसा मागेको हुनाले रकम निकासा नगरिएको बताउनुभयो । ‘केही अस्पतालले तीन दिनका बिरामीलाई १३ दिन भर्ना गरिएको, शय्यामा राखेर उपचार गरिएका बिरामीलाई सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटरमा राखेर उपचार गरिएको भनेर गलत रिर्पोट बुझाएर रकम माग गरेको पाइयो’, उहाँले भन्नुभयो, ‘१० हजार रुपियाँको बिल बढाएर अस्पतालले ९० हजार रुपियाँ पनि पु¥याएको पाइयो । त्यही भएर हामीले त्यस्ता अस्पतालको रकम निकास गरेका छैनौँ ।’