प्रवासी नेपाली मञ्च(ओएनएफ) साउथ अष्ट्रेलियाले ईस्वी संवतको नयाँ बर्ष २०२३ तथा अन्तर्राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा पदयात्रा आयोजना गर्ने भएको छ ।
मञ्चका सचिव तथा कार्यक्रम संयोजक सन्तोष गौतमले स्थानिय जोन मिलर रिजर्भबाट पदयात्रा शुरु गरेर एडिलेडको चर्चित बिच ग्लेनेल पुगेर पुन जोन मिलर रिजर्भमा आएर पदयात्रा समापन गरिने बताए । जनवरी १ विहान ७.३० वजे पद यात्रा शुरु हुने गौतमले जानकारी दिए । उनले सहभागी हुन दर्ता गर्नु नपर्ने तर मञ्चले तोकेको गुगल फर्म भर्ने पहिलो १०० जनालाई नेपाली ढाकाको टोपी उपहार दिने बताए । उनले टोपी नेपाल र नेपालको पहिचान भएकाले जनवरी १का दिन एडिलेडको मुख्य पर्यटकीय स्थलमा टोपी लगाएर पदयात्रा गरिने बताए ।
मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले टोपी दिवसको पदयात्रा मार्फत नेपाललाई चिनाउने र नेपालको पर्यटन उधोगको विकासका लागि प्रचारमा सघाउने मुख्य उद्देश्य रहेको बताए । उनले विगतमा पार्कमा सांस्कृतिक कार्यक्रम सहितको कार्यक्रम गर्दै आएकोमा यस वर्ष पद यात्रा गरेर कार्यक्रमको एउटा उद्देश्य नेपालको पर्यटन प्रवर्धन पनि भएकाले त्यसलाई टेवा दिन महत्वपुर्ण समुन्द्री किनारामा पदयात्रा गर्न लागेको बताए । पहाडीले अष्ट्रेलियमा हुर्केको नयाँ पुस्तालाई नेपालको सांस्कृतिक पहिचान वारेमा साक्षात्कार गराउने पनि आफ्नो उद्देश्य रहेको वताए ।
अध्यक्ष पहाडीले यसका लागि एडिलेडवासी नेपालीहरुलाई पदयात्रामा सहभागी हुदा संभव हुने उमेर समुहका बालबालिकाहरुलाई पनि सहभागी गराउन अनुरोध गरिएको बताए । उनले सांस्कृतिक विविधताले भरिएको नेपाली समाजका सदस्यहरुलाई संभव हुनेहरुले आफ्नो मौलिक राष्ट्रिय पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन समेत अनुरोध गरेका छन् ।
प्रतिक्रिया