पुस १५ गतेपछि चल्ने छैनन् भन्सार घोषणा नगरि विदेशबाट ल्याएका मोबाइल

पुस १५ गतेपछि चल्ने छैनन् भन्सार घोषणा नगरि विदेशबाट ल्याएका मोबाइल


काठमाडौँ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ।

शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले आगामी पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न पुनः आह्वान गर्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने जानकारी गराएको हो।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदौभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणको अनुरोध छ।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पुस १५ गते देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी/नागरिकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ।’

नेपाल भित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोही अनुरूप यकिन गरेर मात्र खरिद गर्ने प्राधिकरणले अनुरोध गरेको छ।

मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङरब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो।