मेलबर्न अष्ट्रेलिया ।
द हिमालयन टाइगर्सले आयोजना गरेको पहिलो वोल्ड दरबार भलिबल कप २०२२ को उपाधि टाइगर्स गुडलकले जितेको छ। आइतबार मेल्बर्नको डारेबिन सामुदायिक खेलकुद स्टेडियममा भएको फाइनल खेलमा वोल्ड दरबारलाई ३–२ को सेटमा पराजित गर्दे उपाधि हात पारेको हो।
डिसेम्बर १८ बाट सुरु भएको प्रतियोगितामा ७ टिमले भाग लिएका थिए। लिग ढाँचामा (पूल ए र पूल बी ) खुला र सिनियर तर्फका खेलहरु खेलाइएको थियो। पुल ए बाट वोल्ड दरबार र हाम्रो कम्युनिटी सेमीफाइनलमा पुगेका थिए। यस्तै पुल बी बाट युएफसी र टाइगर्स गुडलक सेमिफाइनल पुगेका थिए। पुल ए बाट वोल्ड दरबार र पुल बी बाट टाइगर्स गुडलकले फाइनलको यात्रा तय गरे। प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा टाइगर्स गुडलकले वोल्ड दरबारलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो।
टाइगर्स गुडलकले ट्रफी, मेडल र नगद २ हजार अष्ट्रेलियन डलर जितेको छ। प्रतियोगितामा दोस्रो भएको वोल्ड दरबारले एक हजार अष्ट्रेलियन डलर पायो। प्रतियोगितामा बेस्ट सेटर वोल्ड दरबारका विकास कार्की भए भने बेस्ट स्पाइकर टाइगर्स गुडलकका बैरागी लामा भए। यस्तै बेष्ट डिफेन्डर टाइगर्स गुडलकका किशोर घर्ति मगर भए भने प्रतियोगिता कै उत्कृष्ट खेलाडी वोल्ड दरबारका अर्जुन अधिकारी भए।
प्रतियोगिताको वोल्ड दरबार रेस्टुरेन्टले प्रयोजन गरेको थियो।
पुरस्कार वितरण कार्यक्रममा फेन्का (फेडेरसन अफ नेपलिज् एसोसियसन अफ अष्ट्रेलिया) भिक्टोरियाका संयोजक भोला गिरी, हीमालयन टाइगरका अध्यक्ष सन्तोष पाण्डे, न्याभका पूर्व अध्यक्ष तारा गैरे तथा वोल्ड दरबारका डाइरेक्टर रमेश केसी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा द हिमालयन टाइगर्सले प्रतियोगितालाई सफल बनाउन सहयोगी भूमिका खेलेकोमा सबेलाई धन्यवाद दिएको थियो।
प्रतिक्रिया