तास्मानिया होबार्ट ।
नेपालले होबार्ट सोसियल विश्वकप फुटबल २०२३ मा भाग लिने भएको छ। उक्त प्रतियोगितामा तास्मानियाको स्थापित नेपाली फुटबल क्लब मार्फाले नेपालको सहभागिता जनाउन लागेको हो।
मार्फा फुटबल क्लबले नेतृत्व गरेको नेपालले पहिलो खेल जनवरी ४ (बुधबार बेलुकी ६ः३० बजे) क्रोसियासँग ऑलिंडा ग्रोभ–युटास ग्राउण्डमा खेल्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।
समुह ‘सी’ मा रहेको नेपालले दोस्रो खेल जनवरी ८ तारिख दिउँसो २ बजे सोही ग्राउण्डमा बहामाससँग खेल्ने छ। समुह चरणको अन्तिम खेल जनवरी १५ दिनको १२ः३० बजे नेपाल र ग्रीसबीच हुने युवा समाजसेवी आशीष तिवारीले जानकारी दिए।
नेपालको प्रतिनिधित्व गर्ने मार्फा क्लबलाई प्रवासी नेपाली मंच अष्ट्रेलिया तास्मानिया राज्य कमिटीले जर्सी प्रायोजन गरेको छ। उक्त पत्रकार सम्मेलनमा प्रवासी नेपाली मंच तास्मानिया राज्यका इंचार्ज सुजन लामिछानेले आगामी दिनमा समेत संस्थाले मार्फा फुटबल क्लबलाई समाज रूपान्तरणको निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबलाई वर्ल्डकपमा विजयीको शुभकामनासमेत दिए।
उक्त पत्रकार सम्मेलनमा नेपाली सोसाइटी अफ तास्मानिया राज्यका उपाध्यक्ष केराज खनाल, नेप्लीज तास्मानिया स्पोर्ट्स एसोसिएसनका अध्यक्ष बिष्णु सापकोटा, नेप्लीज बिजनेश एशोशियसन तास्मानियाका सचिव उमेश सेंच्युरी, मार्फा फुटबल क्लबका स्पोंसर तथा युवा समाजसेवी आशिष तिवारी लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
मार्फा फुटबल क्लबका अध्यक्ष रबीन पौडेलले उक्त पत्रकार सम्मेलनमा उपस्थित पत्रकार, सामाजिक संस्थाका प्रतिनिधि तथा उपस्थिति सबैलाई धन्यवाद सहित आभार व्यक्त गरे। उनले आउँदो वर्ल्डकपमा नेपालको सानदार उपस्थिति रहने भन्दै खेलाडीहरूलाई हौसला प्रदान गर्नका निम्ति यहाँ रहेका सबै नेपाली संघ–सस्थाको साथ सहयोग आवश्यक रहेको बताए।
मार्फा फुटबल क्लब तास्मानिया राज्यमा विगत लामो समय देखी नेपालीहरू माझ फुटबल खेल मार्फत प्रवासमा रहेका नेपाली युवाहरूलाई एकजुट बनाउँदै आएको संस्था हो।
प्रतिक्रिया