काठमाडौँ ।
कतार विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।
अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हराएको हो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पाउलो डिबाला, लियान्द्रो पारेडेस र गोन्जालो मोन्टिएलले गोल गरे ।
फ्रान्सका लागि किनस्ले कोमान र औरेलियन चोमेनीले गोल गर्न सकेनन् । कायलियन एमबाप्पे र रान्डाल कोलो मुआनीले मात्र गोल गरे। यसअघि फाइनल खेलको निर्धारित ९० मिनेट तथा थप गरिएको अतिरिक्त ३० मिनेटसम्म दुबै टिमले ३–३ गोलको बराबरी खेलेका थिए ।
निर्धारित ९० मिनेटको पहिलो हाफमा अर्जेन्टिनाले २ गोल गरेपनि दोस्रो हाफमा फ्रान्सले पनि २ गोल फर्कायो। अतिरिक्त ३० मिनेटमा दुबै टोलीले १–१ गोल गरे ।
अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले २ तथा एन्जेल डी मारियाले एक गोल गरे। मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। मारियाले ३६ औँ मिनेटमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
तर फ्रान्सका कायलियन एमबाप्पेले ३ गोल गरे। उनले ८० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए। ८१ औँ मिनेटमा एमबाप्पेले अर्को गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
थप गरिएको अतिरिक्त ३० मिनेटभित्र मेस्सी र एमबाप्पेले एक एक गोल गरे। मेस्सीले १ सय ८ मिनेटमा गोल गर्दा एमबाप्पेले १ सय १८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरी गरे ।
प्रतिक्रिया