तास्मानिया होबार्ट ।
नेपाली लोक रक ब्यान्ड नेपथ्यले तास्मानियाको होबार्टमा दोस्रो पटक सांगीतिक कार्यक्रम गर्ने भएको छ। नेपथ्य लाइभ इन होबार्ट दोस्रो संस्करण नाम दिएको उक्त सांगीतिक कार्यक्रम होबार्टको ओरियन थियटरमा २० जनवरीमा गर्न लागिएको हो। सम्सरा इभेन्टले आयोजना गरेको यो कार्यक्रमलाई बिएमडब्लु एजुकेसन कल्सलटेन्सीले मुख्य प्रायोजन गरेको छ। तास्मानियामा रहेका अन्य व्यावसायिक संघ संस्थाले पनि कार्यक्रमलाई प्रयोजन गरेका छन्।
नेपथ्य व्याण्डले यसअघि गरेका अष्ट्रेलिया टूरमा धेरै दर्शकको उपस्थिति रहने गरेको छ । यसअघि पहिलो पटक होबार्टमा आयोजना गरिएको कन्सर्ट भव्य सफल बनेको थियो। २०१९ मा नेपथ्यले होबार्टको रेस्ट प्वाईन्ट क्यासिनोको तास्मानिया हलमा १३ सय बढी दर्शकको उपस्थितिमा भव्य कन्सर्ट गरेको थियो । यस पटक कार्यक्रमको टिकट सबै अनलाईनबाट बिक्री गर्ने तयारी छ। उक्त कार्यक्रमका लागि पहिलो चरणको टिकट बुकिंङ सकिएको र दोस्रो चरणको टिकट बुकिंङ पनि अन्तिम चरणमा पुगेको सम्सारा इभेन्टका संयोजक साजन परियारले केबीसी खबरलाई जानकारी दिए।
यस पटकको नेपथ्यको कार्यक्रमका लागि १५ सय दर्शक क्षमता रहेको ओरियन थियटर बुक गरिएको छ। नेपथ्य जस्तो नेपाली मौलिक रक ब्यान्डलाई होबार्टमा ल्याएर कार्यक्रम गर्न पाउनु आफैमा एउटा गर्विलो बिषय भएको संयोजक परियारले बताए। उनले कार्यक्रम आयोजनाका लागि तास्मानियामा रहेका नेपाली भाषीले देखाएको साथ र सहयोगका लागि धन्यवाद दिएका छन्।
नेपथ्यले तीन दशकदेखि सङ्गीतको माध्यमबाट सकारात्मक रूपान्तरणका लागि विभिन्न सांगीतिक यात्रा गरिसकेको छ। नेपथ्यले नेपालभित्रका ५० भन्दा बढी र अमेरिका, दक्षिण कोरिया, हङकङ, भारत, इजरायल, बेलायत, अस्ट्रेलियालगायत देशका विभिन्न सहरहरूमा ६० बढी सांगीतिक कार्यक्रम गरिसकेको छ।
प्रतिक्रिया