मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरले आफ्नो १ सय १९ रोपनी क्षेत्रफलको हाताभित्र सञ्चालन गर्न लागेको मन्दिर र बौद्ध ध्यान केन्द्रका लागि ४ वटा मूर्तिहरु मेलबर्न आइपुगेका छन् । भारतबाट ल्याइएका ति मूर्तिहरुलाई आईतबार संस्थाका पदाधिकारीहरुले प्याकेजबाट खोलेर आफ्नो हाताभित्र थन्क्याएका छन् । सर्वसाधारणका लागि भने यी मूर्तिमा पूजाआजा गर्न अझै ६ महिना पर्खिनुपर्नेछ ।
भिक्टोरियन सरकारको सहयोगमा यतिबेला बहुसांस्कृतिक केन्द्रले खरिद गरेको भवनलाई मर्मत गर्ने कार्य चलिरहेको छ । ६ महिनाभित्र सकिने अपेक्षा गरिएको मर्मत कार्य समयमै सकिएमा मूर्तिहरुलाई घरमा स्थानान्तरण गरिनेछ । यतिबेला आएका मूर्तिहरुलाई तत्कालका लागि स्टोरेजमा राखिएको संस्थाका अध्यक्ष गान्धी भट्टराईले जानकारी दिए । उनले केविसीखबरसँग भने, “यहाँ पूजाआजा गर्ने स्वीकृति त छैन । तर, हामीले चासोपूर्वक आउनुहुने सदस्यहरुलाई थोरै थोरै संख्यामा अवलोकन गर्न दिनेछौं । पछि प्राणप्रतिष्ठासहित उता भवनमा स्थापित गरेपछि पूजा सुरु हुनेछ ।”
दुर्गा, शिव, गणेश र बुद्ध भगवानको मूर्तिसँगै शिवजीको वाहन बसाहा पनि ल्याइएको हो । भारतबाट ल्याइएका यी मूर्तिहरुको मूल्य करिब ९ हजार अष्ट्रेलियन डलर रहेको बताइएको छ । यिनलाई बहुसांस्कृतिक केन्द्रको हातासम्म ल्याउन अन्य खर्च भने ६ हजार डलर लागेको छ । कूल १५ हजार अष्ट्रेलियन डलरमा चारवटा मूर्ति आइसकेको जानकारी पनि अध्यक्ष भट्टराईले दिएका छन् ।
आईतबार प्याकेजभित्र रहेका यी सामग्रीहरुलाई त्यहाँबाट निकाल्ने कार्यका लागि कार्यसमितिका अधिकांश सदस्यहरु उपस्थित भएका थिए । मुख्यतः यी सामग्री ल्याउँदा बिमा समेत गरिएका कारण आयात गर्ने क्रममा कुनै क्षति भएको छ कि छैन भनी हेर्नका लागि आफुहरु उपस्थित भएको र सबै मूर्तिहरु सकुशल रहेको जानकारी संस्थाका सचिव गणेश अधिकारीले दिए । उनले भने, “मूर्ति अघिल्तिर देखिसकेपछि मन अत्यन्तै प्रफुल्लित भएको छ । नेपाली मन्दिर र गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउने हाम्रो सपना विस्तारै साकार बन्दैछ ।”
प्रतिक्रिया