कतार विश्वकप : मोरक्को र पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश

कतार विश्वकप : मोरक्को र पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश


काठमाडौँ ।

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा मंगलबार राति भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । त्यस्तै मोरक्कोका बदर बनोउनेले भने गोल गर्न सकेनन् । स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् ।

पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो भने कार्लोस सोलेर र सर्जियो बुस्केट्सको प्रहारलाई मोरक्कोका गोल रक्षक यासिन बोनोले बिफल बनाएका थिए ।

यस्तै आज भएको अर्काे खेलमा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६–१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।

स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए। अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।