कांग्रेस महाधिवेशनको मिति फेरि स-यो !

कांग्रेस महाधिवेशनको मिति फेरि स-यो !


काठमाडौं, ११ कात्तिक । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सरेको छ । महाधिवेशनको मिति पटकपटक पर सार्दै आएको कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने निश्चित गरेको थियो । तर बुधबार बसेको निर्वाचन समितिको बैठकले सो मितिलाई १८ दिन पर सार्दै मंसिर २७ गतेदेखि पुस १ गतेसम्म गर्ने गरी नयाँ मिति प्रस्ताव गरेको छ ।
केन्द्रीय निर्वाचन समितिको बैठकले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्नेगरी कार्यतालिका बनाइएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।
मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गर्न निर्वाचन समितिलाई जिम्मा दिएको थियो । सोही अनुसार समितिले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले नयाँ तालिका प्रस्ताव गरेपनि कांग्रेस महाधिवेशन सार्न केन्द्रीय समितिको बैठक बस्नुपर्ने हुन्छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको नयाँ मिति अनुमोदन गर्न केही दिनमै केन्द्रीय समिति बैठक बोलाउने तयारी गर्नुभएको छ ।