सोमबारबाट दुबै डोज खोप लगाएकाहरु अष्ट्रेलियाबाट विदेश जाँदा अनुमति लिन नपर्ने

सोमबारबाट दुबै डोज खोप लगाएकाहरु अष्ट्रेलियाबाट विदेश जाँदा अनुमति लिन नपर्ने


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाले आफ्ना नागरिकहरुलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध सोमबारबाट हटाउने भएको छ । यससँगै विदेश यात्रामा जाँदा कारणसहित अनुमतिका लागि दिनुपर्ने निवेदन खारेज भएको छ भने विदेशबाट स्वदेश फर्कदा पनि यस्तो अनुमति लिनुपर्ने छैन । यो व्यवस्था दुबै डोज खोप लगाएका व्यक्तिहरुको हकमा लागू भएको हो । तर, खोप नलगाएकाहरुले भने अझै पनि विदेश जान या आउनअघि सरकारसँग अनुमतिको आवेदन दिएर स्वीकृत भएपछि मात्रै यात्रा गर्न पाइनेछ ।

स्वास्थ्यमन्त्री ग्रेग हन्टले यसअघि विदेशबाट या विदेशमा यात्रा गर्दा कोभिड १९ कोरोना भाईरस देशभित्र ल्याउने सम्भावना हुने भन्दै लगाइएको ्यात्रा प्रतिबन्धलाई हटाउने निर्णय गरेका थिए । अब यात्रीहरुले दुबै डोज खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । खोप नलगाएका व्यक्तिहरु विदेशबाट अष्ट्रेलिया आउँदा अनुमति लिनुपर्ने र १४ दिन क्वारेन्टीन समेत बस्नुपर्नेछ । यिनीहरुलाई आगमन कोटा समेत लागू हुनेछ ।

अष्ट्रेलियाले हालसम्म चारवटा खोपलाई मान्यता दिएर वितरण गर्दै आएको छ । फाईजर, मोडर्ना, एस्ट्राजिन्का र जोन्सन एण्ड जोन्सन । तर, चीन, भारत र रसिया लगायतमा निर्माण भएका खोपहरुलाई पनि उसले यात्राका लागि स्वीकार गरेको छ ।

यससँगै सरकारले उडानको तीन दिनअघिको पीसीआर परीक्षण नतिजा पेश गरे हुने व्यवस्था गरेको छ ।

यसैबीच, भिक्टोरियामा कोभिड १९ कोरोनाका बिरामीहरुको संख्या फेरि बढेको छ । गएको २४ घण्टामा १९ सय २३ नयाँ संक्रमित भेटिएका छन् ।