सिड्नी । नेपालमा हालै गएको विनाशकारी विपत्तिबाट प्रभावित नेपालीहरूको समर्थनमा अष्ट्रेलियाको बहुसांस्कृतिक समुदाय एकजुट भएको छ।
ग्लेनवुडस्थित मारिगोल्ड हल, ग्लेनवुड कम्युनिटी हबमा ‘नेपालका लागि आवाज–एकता र आशाको कविता’ शीर्षकमा बहुसांस्कृतिक कविता तथा सहयोग संकलन कार्यक्रम आयोजना गरिएको हो।
We Australians Are Creative Incorporated (WAACI) र International Nepali Literary Society (INLS NSW) को संयुक्त पहलमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक समुदायका कवि, सामुदायिक अगुवा, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता थियो।
कार्यक्रमको सुरुवात विपत्तिमा ज्यान गुमाउनेहरू तथा प्रभावित सबैको सम्झनामा एक मिनेट मौनधारणबाट गरिएको थियो।
कार्यक्रममा अंग्रेजी, नेपाली, हिन्दी, उर्दू, पञ्जाबी, बंगाली, तेलुगु तथा भुटानी समुदायका कविहरूले कविता प्रस्तुत गरेका थिए। कविता मार्फत उनीहरूले नेपालप्रति ऐक्यबद्धता, सहानुभूति, आशा, धैर्यता र मानवीय सहयोगको सन्देश दिएका थिए।
कार्यक्रममा ब्ल्याकटाउन सिटी काउन्सिलका Cr Mohit Kumar, Cr Susai Benjamin र Cr Moninder Singh तथा क्याम्पबेलटाउनका Cr Masud Khalil विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
INLS NSW की अध्यक्ष भावना पराजुलीले नेपाल र नेपाली समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै “नेपाल, तिमी एक्लो छैनौ। हामी तिम्रो साथमा छौँ।” भन्ने सन्देश दिएकी थिइन्।

WAACI का बोर्ड सदस्य Abbas Raza Alvi ले विपत्तिको समयमा मानवीय संवेदना, एकता र सामूहिक सहयोगको महत्वमाथि जोड दिएका थिए।
कार्यक्रममा सामुदायिक अगुवाहरूले पनि सम्बोधन गर्दै विपत्तिबाट प्रभावित नेपाल र नेपाली जनताको राहत तथा पुनःस्थापनाका लागि सबै समुदायको सहयोग आवश्यक रहेको बताएका थिए।
कार्यक्रमसँगै नेपालमा राहत तथा पुनःस्थापनाका लागि सहयोग संकलनसमेत गरिएको थियो। च्यारिटी बक्समार्फत सहयोग संकलन गरिएको थियो भने सहभागीहरूलाई नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आवश्यक जानकारीसमेत दिइएको थियो।
कार्यक्रमको समापन गर्दै INLS NSW का सल्लाहकार सौरभ किरण श्रेष्ठले आयोजक, कवि, स्थानीय जनप्रतिनिधि, सहयोगी संस्था तथा विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे।
उनले विपत्तिको समयमा अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायले देखाएको एकता, करुणा र सहयोग मानवताको उत्कृष्ट उदाहरण भएको बताए।
कार्यक्रमलाई ब्ल्याकटाउन नेपालीज कम्युनिटी–अष्ट्रेलिया, एसोसिएसन अफ भुटानीज इन अष्ट्रेलिया, हिन्दुज फर ह्युमन राइट्स, हरमन फाउन्डेसन, इन्डियन क्रिसेन्ट सोसाइटी अफ अष्ट्रेलिया, MCC NSW, फिलिपिनो अष्ट्रेलियन मल्टिकल्चरल एसोसिएसनलगायत विभिन्न संघसंस्थाले सहयोग गरेका थिए।
ब्ल्याकटाउन सिटी काउन्सिल, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, मुशायरा परिवार, नई एकेडेमी अष्ट्रेलिया, ब्ल्याकटाउन नेपालीज कम्युनिटी–अष्ट्रेलिया तथा एसोसिएसन अफ भुटानीज इन अष्ट्रेलियालगायत संस्थाहरूको समेत कार्यक्रमलाई सहयोग रहेको थियो।

प्रतिक्रिया