५.९ म्याग्निच्युडको भूकम्पले हल्लियो डार्विन, सुनामीको खतरा छैन

५.९ म्याग्निच्युडको भूकम्पले हल्लियो डार्विन, सुनामीको खतरा छैन


डार्विन । अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा शुक्रबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण डार्विन र आसपासका क्षेत्रमा घर तथा भवनहरू केही समय हल्लिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

राति करिब ९ः२८ बजे गएको भूकम्प सुरुमा ६.१ म्याग्निच्युडको रहेको बताइएको थियो। पछि यसको तीव्रता ५.९ म्याग्निच्युड र गहिराइ करिब ७३ किलोमिटर रहेको भन्दै विवरण संशोधन गरिएको छ।

भूकम्पको केन्द्र डार्विनबाट करिब ६०० किलोमिटर टाढा, तिमोर–लेस्तेको पूर्वतर्फ रहेको बान्डा सागर क्षेत्रमा रहेको बताइएको छ।

डार्विनसहित पाल्मरस्टन, जिङ्गिली लगायतका क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरूले बताएका छन्। केही बासिन्दाले घरका सामान हल्लिएको तथा केही समयसम्म कम्पन महसुस भएको बताएका छन्।

यसअघि शुक्रबार बिहान पनि तिमोर क्षेत्रको पूर्वतर्फ ५.२ म्याग्निच्युडको भूकम्प गएको बताइएको थियो। त्यसपछि राति आएको ५.९ म्याग्निच्युडको भूकम्पले उत्तरी अष्ट्रेलियामा पुनः कम्पन महसुस गराएको हो।

हालसम्म भूकम्पका कारण ठूलो मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। अष्ट्रेलियाको मौसम विज्ञान विभागले पनि यस घटनाबाट अष्ट्रेलियामा सुनामीको खतरा नरहेको जनाएको छ।

भूकम्पसम्बन्धी आधिकारिक तथ्यांक तथा विवरण जिओसाइन्स अष्ट्रेलियाले निरन्तर अद्यावधिक गरिरहेको छ। प्रारम्भिक भूकम्पको तीव्रता तथा अन्य विवरण थप विश्लेषणपछि परिवर्तन हुन सक्ने भएकाले पछिल्लो आधिकारिक विवरणलाई आधार मानिनेछ।

डार्विन बान्डा सागर र तिमोर क्षेत्रको भूकम्पीय गतिविधि हुने क्षेत्रमा तुलनात्मक रूपमा नजिक रहेकाले अष्ट्रेलियाबाट सयौँ किलोमिटर टाढा गएको भूकम्पको धक्का पनि डार्विनमा महसुस हुने गरेको बताइएको छ।