एडिलेडमा तीजको परम्परालाई निरन्तरता दिँदै नेपाली समाज, रसुवा बाढीपीडितका लागि पनि सहयोग

एडिलेडमा तीजको परम्परालाई निरन्तरता दिँदै नेपाली समाज, रसुवा बाढीपीडितका लागि पनि सहयोग


एडिलेड । नेपाली हिन्दु महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा एडिलेड नेपाली समाजले सामूहिक पूजासहित तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

भाद्र शुक्ल तृतीया अर्थात् सेप्टेम्बर १४ तारिख सोमबार दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा पण्डितद्वारा विधिपूर्वक सामूहिक पूजा गरिनेछ। तीजका दिन शिव मन्दिरमा गई पूजा–आराधना गर्ने नेपाली परम्परालाई प्रवासमा समेत निरन्तरता दिने उद्देश्यले समाजले विगत केही वर्षदेखि यज्ञस्थल स्थापना गरी सामूहिक पूजा तथा नाचगानसहित तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको छ।

अष्ट्रेलियामा हुर्कंदै गरेको नयाँ पुस्तालाई नेपाली कला, संस्कृति, धर्म र परम्परासँग परिचित गराउँदै पुस्तान्तरणमा सहयोग पुर्‍याउने उद्देश्यले पनि समाजले प्रत्येक वर्ष तीज विशेष कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

स्थानीय कोसग्रोभ हल, क्लोभेली पार्कमा आयोजना हुने कार्यक्रममा सामूहिक पूजा, नाचगान तथा अन्य सांस्कृतिक गतिविधिसँगै नेपाली शाकाहारी खाना र चियाको समेत व्यवस्था गरिएको समाजले जनाएको छ।

एडिलेड नेपाली समाजका अध्यक्ष बालगोपाल उपाध्यायले मातृभूमि विषम परिस्थितिबाट गुज्रिरहेको समयमा पनि प्रवासमा नेपाली धार्मिक तथा सांस्कृतिक पर्व र परम्परालाई निरन्तरता दिनु महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले अष्ट्रेलियामा हुर्कंदै गरेको नयाँ पुस्तालाई अघिल्लो पुस्ताबाट हस्तान्तरण हुँदै आएका नेपाली मौलिक परम्परा, संस्कार र संस्कृतिबारे जानकारी गराउँदै त्यसलाई भावी पुस्तासम्म पुर्‍याउनु संस्थाको दायित्वसमेत रहेको उल्लेख गर्नुभयो।

उपाध्यायका अनुसार यस वर्षको तीज कार्यक्रमलाई मातृभूमिप्रतिको दायित्वसँग समेत जोडिएको छ। कार्यक्रममा राफल चिठ्ठा आयोजना गरी संकलित रकम रसुवाका बाढीपीडितको सहयोगार्थ नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने उहाँले बताउनुभयो।

यसरी यस वर्षको तीज कार्यक्रमलाई धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै मातृभूमिमा विपद्मा परेका नागरिकप्रतिको सहयोग र ऐक्यबद्धतासँग जोडेर आयोजना गर्न लागिएको समाजले जनाएको छ। समाजले यसअघि पनि विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथै, नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणका लागि निरन्तर रूपमा नेपाली विद्यालयसमेत सञ्चालन गर्दै आएको समाजका सचिव प्रदिप निरौलाले केबीसी खबरलाई बताउनुभयो।