काठमाडौं— भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकको सम्मानमा नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला झापाली समाज अस्ट्रेलियाले विपद्पीडितको राहत तथा पुनर्स्थापनाका लागि संकलित १२ लाख २० हजार रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
सरकारले भदौ २२ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेसँगै देशभर राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यही शोकपूर्ण घडीमा अस्ट्रेलियामा रहेका नेपाली समुदायबाट संकलित सहयोग औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
झापाली समाज अस्ट्रेलियाले ११ हजार ४६१ अस्ट्रेलियन डलर ७३ सेन्ट बैंकिङ माध्यमबाट नेपाल पठाएको जनाएको छ। उक्त रकम ८ हजार ८९ अमेरिकी डलर ६७ सेन्टमा रूपान्तरण भएको थियो। नेपाल राष्ट्र बैंकको सो दिनको विनिमय दर प्रतिअमेरिकी डलर १५० रुपैयाँ ८८ पैसाका आधारमा उक्त सहयोगको नेपाली मूल्य १२ लाख २० हजार ५६९ रुपैयाँ ४१ पैसा बराबर हुन आउँछ।
सिंहदरबारमा अर्थमन्त्रीलाई हस्तान्तरण
झापाली समाज अस्ट्रेलियाका संरक्षक दिनेश पोखरेल र उपाध्यक्ष मदन धौरालीले काठमाडौंस्थित सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरणका क्रममा सरकारका तर्फबाट विपद्को कठिन समयमा सहयोग जुटाउने झापाली समाज अस्ट्रेलिया, सहयोगी व्यवसायी, दाता तथा अस्ट्रेलियास्थित नेपाली समुदायप्रति आभार व्यक्त गरिएको जनाइएको छ।
यो सहयोग भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि सञ्चालन भइरहेको राहत, उद्धार तथा पुनर्स्थापनाको राष्ट्रिय अभियानसँग जोडिएको छ।

व्यवसायिक क्षेत्रबाट मात्रै १४ हजार अस्ट्रेलियन डलर सहयोग
राहत संकलन अभियानमा अस्ट्रेलियास्थित नेपाली व्यवसायिक क्षेत्रको समेत उल्लेखनीय सहभागिता रहेको झापाली समाज अस्ट्रेलियाले जनाएको छ।
व्यवसायी उमेश पोखरेल, निरज खतिवडा र मुकेश रेग्मीको नेतृत्वमा रहेको वाईडीआर हस्पिटालिटी ग्रुप (खुकुरी रेस्टुरेन्ट्स), लेनवे डम्प्लिङ्स, निलगिरिस सुपरमार्केट, क्रिस्टल सर्भिसेस सिड्नी, स्पेसलाइज्ड स्टाफिङ सोलुसन र किओस फाइन फुडले संयुक्त रूपमा १४ हजार अस्ट्रेलियन डलर सहयोग गरेका थिए।
व्यवसायिक क्षेत्रसहित विभिन्न दाता, शुभचिन्तक तथा समुदायका सदस्यहरूको सहभागिताबाट अभियानमा कुल १७ हजार १८४ अस्ट्रेलियन डलर संकलन भएको संस्थाले जनाएको छ।
यसअघि झापाली समाज अस्ट्रेलियाले विपद्पीडित परिवारको तत्काल सहयोगका लागि अन्तर्राष्ट्रिय झापाली समाजमार्फत ५ लाख नेपाली रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता पूरा गरिसकेको जनाएको छ। उक्त सहयोगका लागि ४ हजार ६११ अस्ट्रेलियन डलर ७३ सेन्ट पठाइएको थियो।
राष्ट्रिय शोकको यस घडीमा प्रवासबाट जुटेको सहयोगले विपद्मा परेका नागरिकप्रति अस्ट्रेलियास्थित नेपाली समुदायको ऐक्यबद्धता, मानवीय संवेदना र सहकार्यलाई पुनः उजागर गरेको छ।



प्रतिक्रिया