काठमाडौँ ।
गण्डकी प्रदेशसभाका लागि मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन्।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज आफ्नै निवास कोटेश्वरमा प्रदेशसभा सदस्य गुरुङलाई पार्टी प्रवेश गरेका हुन्। उनले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा (एकीकृत समाजवादी)सँग मिल्ने भएकाले सो पार्टी प्रवेश गरेको बताएका छन्।
उनले राजनीति कमाउनको लागि होइन सेवा भावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिनेकार्य भएको उल्लेख गर्दै भनेका छन्, “यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो।”
प्रदेशसभा सदस्य गुरुङले परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको सङ्गठनमा आबद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा आफू पुगेको उल्लेख गरेका छन्।
प्रतिक्रिया