बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी


काठमाडौं, १० कात्तिक । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा पाण्डेले मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो । पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउनुभएको छ । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

यसअघि मुख्यमन्त्री शाक्यले राजीनामा दिएको घोषणा गर्नुभएको थियो । बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतमाथि मतदान गर्नुअघि शाक्यले दोस्रो कार्यसूचीमा किन प्रवेश गर्ने भन्दै राजीनामा दिने घोषणा गर्नुभएको हो । प्रदेशसभामा राजीनामा घोषणा गर्नुअघि उहाँले आफ्नो भनाइ राख्नुभएको थियो । सो क्रममा उहाँले बिहान बसेको एमाले प्रदेशसभा दलको बैठकले पनि राजीनामा दिन भनेको बताउनुभयो ।

शाक्यले मुख्यमन्त्रीको कार्यभार सम्हालेको ७१ दिनमै राजीनामा दिनुभएको हो । उहाँ गत भदौ २ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नेकपा एमालेकी प्रदेश सांसद शाक्य एमाले विभाजनसँगै अल्पमतमा परेपछि राजीनामा दिन बाध्य हुनुभएको हो ।