फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कने निश्चित

फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कने निश्चित


काठमाडौं, १० कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने निश्चित भएको छ । अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग नयाँ सम्झौता गर्न सहमत भएका हुन् ।  एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसन (क्यूएफए) पदाधिकारीसँगको भेटपछि आफू एन्फासँग नयाँ सम्झौता गर्ने निर्णयमा पुगेको अलमुताइरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूलाई नेपाल फर्काउनका लागि सहयोग गर्ने सबैलाई अलमुताइरीले धन्यवाद भनेका छन् ।

‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आउँदो दुई वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौँ, मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समयमात्र चाहिन्छ’, अलमुताइरीले सामाजिक सञ्जालमा भनेका छन् ।

यसअघि माल्दिभ्समा भएको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा भारतसँग फाइनल खेल्नुअघि उनले नेपाली टोलीसँग यो नै अन्तिम खेल हुने र नेपाल नफर्कने बताएका थिए । त्यसपछि अलमुताइरीलाई नेपाल फर्किन अनुरोध गर्दै एन्फा अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्स पुगेका थिए । त्यसपछि पनि नेपाली टोलीसँग नफर्की कतार गएका अलमुताइरीलाई भेट्न एन्फा अध्यक्ष र महासचिव उतै गए । यसबीचमा क्यूएफएसँग छलफल गरेपछि उनले नेपाल आउन सक्ने संकेत गरेका थिए ।

गएको चैतमा अलमुताइरी क्यूएफएको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । त्यसपछि जुनमा उनीसँग सन् २०२२ सेप्टेम्बरसम्म नयाँ सम्झौता गरेको एन्फाले जनाएको छ ।