६८ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

६८ प्रतिशतले बढ्यो वैदेशिक व्यापार


काठमाडौं, १० कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा ३ खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेको वैदेशिक व्यापार बढेर चालू आवको सो अबधिमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।

भन्सार विभागद्वारा मंगलबार जारी चालू आबको पहिलो त्रैमासिकको तथ्यांक अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भइ ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो ।

सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ३१ अर्ब चार करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आवमा ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजार रुपैयाँको निर्यात भएको छ ।

चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो । चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।