नेपालमा  कोरोना संक्रमण दर ८.१ प्रतिशत मात्र

नेपालमा  कोरोना संक्रमण दर ८.१ प्रतिशत मात्र


काठमाडौं, १० कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ६७२  जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट ५८२ र एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी जानकारी दिनुभयो ।

बुधबारको प्रेस ब्रिफिङमा सहप्रवक्ता अधिकारीले दिनुभएको जानकारी अनुसार २४ घण्टामा जम्मा ९ हजार ४९५ नमुनाको कोरोना परीक्षण भएको छ । जसमा ७ हजार १६७ पीसीआर र २ हजार ३२८ एन्टिजेन परीक्षण भएको छ । २४ घण्ठामा ४९५  जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

जम्मा कोरोना पुष्टि हुनेको संख्या ९ लाख ५ हजार १८५ पुगेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ । हालसम्म पीसीआर परीक्षणबाट ८ लाख  १० हजार ८८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४ हजार ३०५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ । ७ लाख ८९ हजार १२५ जना कोरोनामुक्त भएका छन् ।  कोरोनाबाट मुक्त हुनेको संख्या ११ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टाको संक्रमणदर ८.१ रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

अहिले देशभर सक्रिय संक्रमित १० हजार ३७५ जना छन् । जसमा ९ हजार ५५० होम आइसोलेसनमा र ८२५ जना संस्थागत आइसोलेसनमा रहेको सहप्रवक्ता अधिकारीले बताउनुभयो । यस मध्ये २५४ जना आइसीयू र ८६ जना भेन्टिलेटरमा छन् ।